News

  • Home
  • News
  • वाणिज्य तथा आपूर्ति सचिवसंग भेटघाट

वाणिज्य तथा आपूर्ति सचिवसंग भेटघाट



गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको नेतृत्वको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव केदार बहादुर अधिकारी ( वाणिज्य तथा आपूर्ति) संग २४, मे, २०१९ का दिन विशेष भेटवार्ता गऱ्यो । भेटमा संघका यूरोप क्षेत्रीय संयोजक शिव बरुवाल, एनआरएनए रसियाका अध्यक्ष रामेश्वर गौतम, गैरआवासीय नेपाली संघ लगायत, गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

भेटका क्रममा, नेपालको निर्यात बढाउनु पर्ने र निर्यात प्रबर्द्धनमा गैरआवासीय नेपालीहरुको भूमिकाका बारेमा छलफल भयो । भेटमा नेपालमा आयात अत्याधिक रुपमा वृद्धि भएपनि त्यसको तुलनामा निर्यात अत्यन्त न्यून रहेकोले विदेशमा रहेका नेपाली समुदायले निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरामा मतैक्यता थियो । यस्तै संघले, गैरआवासीय नेपाली संघको तर्फबाट आयोजना गर्ने नेपाल फेष्टिभल लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको र उक्त, कार्यक्रममा नेपालको सामानको प्रदर्शन तथा बिक्रि वितरणलाई प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गऱ्यो । साथै भेटघाटमा नेपालको प्रबर्द्धनमा भएका विभिन्न कार्यक्रमहरु, Nepal House निर्माण जस्ता क्रियाकलापहरु र त्यस्ता कार्यक्रम गर्दाका अनुभव समेत सचिव अधिकारीलाई जानकारी गराइयो । साथै भेटमा नेपालको निर्यात एवं निर्यात प्रवर्धनको जिम्मा पाएका निकायहरुलाई संघको सञ्जाल प्रयोग गर्न अनुरोध समेत गरियो ।

यस्तै औद्योगिक विकासले गति लिइरहेको परिपेक्ष्यमा नेपालमा उत्पादित उत्पादनहरू आन्तरिक बजारमा मात्र सीमित नरही मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकेमा अन्तर्राष्ट्रिय बजार पनि ओगट्न सक्ने र आन्तरिक उत्पादनलाई बाह्य बजारमा बिक्री वितरण गर्न सकेमा मनग्य आम्दानी समेत गर्न सकिने सन्दर्भमा समेत संयुक्त छलफल भयो । सो क्रममा गैरआवासीय नेपाली संघका तर्फबाट गएका प्रतिनिधीहरुले निर्यात प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गर्न आफू तयार रहेको अवगत गराएका थिए ।

यस्तै भेटका अवसरमा सचिव अधिकारीले विशेष–विशेष मुलुकमा नेपाली वस्तु र सामान बेच्ने specialized store खडा गर्न गैरआवासीय नेपाली संघलाई अनुरोध गर्नुभयो । सरकारबाट यस्ता विशिष्टीकृत स्टोरहरुको स्थापनामा सहयोग गरिने जानकारी गराउनुभयो । साथै उहाँले अधिकारिक प्रस्ताव सहित आउन गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो ।

विश्वव्यापीकरणको यो युगमा नेपालमा लगानी मात्रै नभई व्यापार र ब्राह्य बजार प्रवद्र्धन हाम्रो समेत दायित्व हो । तसर्थ खुला बजारको अवधारणामा अघि बढ्न सकिने आधारहरुलाई उपभोग गर्न सके नेपाली उत्पादनलाई विश्वभर प्रवद्र्धन गर्ने मौका समेत हामीलाई प्राप्त हुनेछ ।

यसर्थ, संघ, नेपालीहरुको निर्यात प्रवद्र्धन गर्ने सम्बन्धमा कुनै निश्चित प्रस्ताव भए सो संघमा उपलब्ध गराउन सबै राष्ट्रिय समन्वय परिषद एवं गैरआवासीय समुदायमा हार्दिक अनुरोध गर्दछ ।

गैरआवासीय नेपाली संघ
मितिः २४ मे २०१९