News

  • Home
  • News
  • लाप्राक एकीकृत बस्ती असोजमा हस्तान्तरण गरिने

लाप्राक एकीकृत बस्ती असोजमा हस्तान्तरण गरिने



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती असोजमा हस्तान्तरण हुने भएको छ ।

धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन बस्ती असोजसम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको एनआरएनए अन्तर्गतको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । “अहिले मौसमले पनि साथ दिएको छ, निर्माण कार्यले पनि तिब्रता पाएको छ । असोजसम्ममा हामी बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारीमा छौं,” उनले भने ।

हालसम्म ७४ घरको छाना छाउने काम सकिएको अर्यालले जानकारी दिएका छन् । उनले भने, “छाना हालिएको घरको माथिल्लो तलामा एसी ब्लकको गारो लगाउन बाँकी छ । तल्लो तलाको काम भइसक्यो ।” १६ वटा क्लस्टर बनाएर काम भइरहेको अर्यालले बताए । एकीकृत बस्तीमा १ सय ४० घरका ढोका र ९६ घरका झ्यालसम्मको काम सकिएको छ । १ सय ३६ घरमा ईटाको गारो लगाउने काम भइरहेको र ३३ घरका लागि ‘प्लटिङ’ गरिएको उनले बताए ।

गुप्सीपाखामा अहिले १५४ नेपाली सेना र एनआरएनएका ६ प्राविधिकसहित १ सय ५ जना बस्ती निर्माणमा खटिएका छन् । निर्माणाधिन बस्तीमा बन्ने घर कसकसको हुने टुंगो लागिसकेको साइट इन्चार्ज अर्यालले बताए । उनले भने, “यहाँ बन्दै गरेको कुन घर कसको भन्ने टुंगो लागिसक्यो । गोलाप्रथाबाट घरको टुंगो लगाइएको हो । तर, गाउँले आफैं मिलेर घर साटेर पनि बस्न छुट दिएका छांै ।” एक घरका लागि १५.१ घनमिटर ढुंगा र १.२९ घनमिटर गिटी स्थानीयले उपलब्ध गराएका छन् । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो ।

नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बन्नेछ । सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ । गुरुयोजना अनुसार पहिलो तला सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइनेछ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिनेछ । ट्रस हालेर नीलो जस्ताको छानो लगाइनेछ । घर निर्माणका लागि आवश्यक इँटा बनाउने मेसिन गुप्सीपाखामा नै लगिएको छ । १० प्रतिशत सिमेन्ट र ९० प्रतिशत माटो मिसाएर त्यहि इँटा उत्पादन गरिएको छ । चिनियाँ प्रविधिको मेसिनले दैनिक ९ हजार इँटा बनाउनेछ । स्थानीयको श्रमदान समेत गरेर प्रतिघर १२ लाख रुपैयाँको लागतमा बन्ने भएको हो । अन्य संघसस्थांसँगको साझेदारीमा खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतका पुर्वाधार तयार पार्ने एनआरएनएको तयारी छ ।

लाप्राक गाउँमा पनि धमाधम घर बन्दै

गुप्सीपाखामा स्थानान्तरणका लागि एकीकृत बस्ती बनिरहे पनि लाप्राकीहरूले पुरानो गाउँमा धमाधम घर बनाइरहेका छन् । भूकम्पछि पहिरोको जोखिममा रहेका लाप्राक गाउँका ५ सय ७३ घरधुरीलाई स्थानान्तरणका लागि एन आर एनले गुप्सीपाखामा घर बनाइरहेको छ । तर, तिनै घरमा बस्नेहरू पुरानै लाप्राक गाउँमा पनि पक्की घर बनाइरहेका हुन् ।

२०५६ सालमा बस्ती नजिकै पहिरो गएपछि जोखिममा रहेको लाप्राक गाउँ भूकम्पपछि झनै चिरा चिरा पर्यो । भूगर्भविदको टोलीले त्यहाँ बस्न उपयुक्त नहुने बताएपछि गाउँमाथिको गुप्सीपाखामा एकीकृत बस्ती बनाइएको हो । गुप्सीपाखामा एनआरएनएले नमुना बस्ती निर्माण थालेपछि भूकम्पपछि गाउँ नै विस्थापित भएर गुप्सी पुगेकाहरू अहिले पुरानै गाउँमा छन् । उनीहरू धमाधम घर निर्माणमा जुटेका हुन् । ११ लाख रुपैया खर्चेर ४ कोठे घर बनाउँदै गरेका सुजीत गुरुङले भने, “परिवारमा १० जना छौं, गुप्सीमा बनाएको घर सानो छ । ४ कोठामात्रै भान्सा चाहियो, अब एउटा एउटा कोठा त चाहियो नि सुत्नलाई अनि यहाँ नबनाई भएन । तलमाथी बाँडिएर बस्ने परिवार ।” खेतबार गाउँमा नै भएकाले बाली थन्काउन पनि तल गाउँमा अनिवार्य घर बनाउनुपर्ने उनले बताए ।

(कारोबारबाट साभार गरिएको)