News

  • Home
  • News
  • लाप्राकलाई नमुना वस्ती बनाउन सरकार र एनआरएनएवीच समझदारी

लाप्राकलाई नमुना वस्ती बनाउन सरकार र एनआरएनएवीच समझदारी



१२ बैशाख, लाप्राक । गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोरखाको उत्तरी गाउँ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारवीच समझदारी भएको छ । आईतबार लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रममा सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा राष्ट्रिय पुन:निर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी अनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी वस्ती रहेको स्थानमा एकीकृत वस्ती विकाश गर्ने छ ।

 

‘हामी तत्कालै वस्ती विकाश गुरुयोजना तयारी पारेर सरकारलाई बुझाउने छौं’ हस्ताक्षरपछि गाउँलेलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भन्नुभयो–‘सरकारले त्यसलाई स्वीकृत गरेपछि निर्माणकार्य सुरु गरेर आगामी हिउँद सम्ममा तपाईहरुलाई नयां घर हस्तान्तरण गर्ने लक्ष्य छ ।’  सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको छ । पुरानो वस्ती रहेको ठाउँ प्राबिधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि हाल अस्थायी टहराहरु रहेको गुम्सी पाखा डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयां वस्ती विकाश गरिने छ । गैरआवासीय नेपाली संघले करिव ३५ करोड रुपैयांको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना वस्ती बनाउन स्वीकृति प्रदान गरेको हो ।

 

दु:खलाई सुखमा बदल्नुपर्छ– राष्ट्रपति

कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीले अब दु:ख मानेर बसिरहने अबस्था नहरहेकाले मेहेनत र परिश्रम गरेर दु:खलाई सुखमा बदल्नु पर्ने बताउनु भयो । ‘आफ्नो देश आफैले बनाउनुपर्छ’ राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘त्यसैले म युवाहरुलाई पुनर्निर्माण अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्दछु ।’ उहांले स्थानीयस्तरमा रहेका सम्भाब्यतालाई पहिचान गरी त्यसको विकाश गर्नुपर्ने बताउनुभयो । गाउँमा पर्याप्त रोजगारी नहुंदा युवाहरु बैदेशिक रोजगारीमा जानुपरेको भन्दै उहांले स्थानीयस्तरमै रोजागरी सिर्जना गर्नुपर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब लाप्राकलाई नमुना वस्ती बनाउने कार्य अगाडी बढ्ने भन्दै यसको अगुवाई गरेकोमा गैरआवासीय नेपाली संघलाई धन्यबाद दिनुभयो र ऐक्यवद्धता व्यक्त गर्नु भयो ।

 

 

साँच्चै नमुना वस्ती बनाउँछौं– घले

सो अबसरमा एनआरएनए अध्यक्ष घलेले लाप्राकमा केवल ओत लाग्ने घरमात्र बनाउने नभई नमुना वस्ती बनाउने उदेश्य रहेकाले सवै पक्षको सहयोग आबश्यक रहेको बताउनुभयो । ‘अब गाउँ बनाउने जिम्मा तपाई–हाम्रो काँधमा आएको छ । तपाई–हामीले हातमा हात मिलाएर काँधमा काँध मिलाएर लाप्राक गाउँलाई सााच्चिकै नमुना बनाउनु छ’ घलेले भन्नुभयो–‘ नमुना गाउँ बनाउन हामीवीच नमुना देखाउन लायककै सहकार्य हुने छ भन्ने मैले विश्वास लिएको छु ।’ राष्ट्र पुनर्निर्माणमा सच्चा साझेदार बन्ने गैरआवासीय नेपालीहरुको चाहनाको कार्यन्वयन आजबाट सुरु भएको भन्दै उहांले यो कार्य आफैमा चुनौतीपूर्ण रहेको बताउनुभयो । नमुना वस्ती बनाउने कार्य सरकार, लाप्राकबासी र एनआरएनए सवै पक्षका लागि पहिलो अनुभव भएकाले सवैबाट सहयोग आबश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गैरआवासीय नेपाली संघको अगुवाईमा अब लाप्राकलाई नेपालकै नमुना गाउँका रुपमा विकाश गरिने बताउनुभयो । वस्ती विकाशमा गैरआवासीय नेपाली संघले लगानी गर्ने र गाउँसम्म आउने बाटो, पानी र बिजुलीका लागि सरकारले सहयोग गर्ने उहांले बताउनुभयो । आजकै दिनबाट एनआरएनए र सरकार मिलेर पुनर्निमाणका सुखद सन्देश दिन सकिएको भन्दै उहांले खुसी ब्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसकार्यमा सहयोग गर्दै लाप्राकमा नमूना बस्ती बिकास गर्न अघि सरेका सम्पूर्ण गैरआवासीय नेपालीहरु प्रति अभार प्रकट गर्नु भयो । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्त अधिकारीहरु, लाप्राक बासी तथा गैरअवासीय नेपाली संघका सल्लाहकर डा. गेणश गुरुङ्ग, यम गुरुङ्ग तथा राष्ट्रिय समन्वय परिषद वहराइनका प्रमुख संरक्षक श्याम तामाङ्ग तथा संघ कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: २०७३ बैशाख १२ गते ।