News

  • Home
  • News
  • रामचन्द्र बचाउँ अभियानको जगेडा रकम एनआरएनको वैदेशिक रोजगार कल्याणकारी राहत कोष अन्तर्गत व्यवस्थापनमा ल्याइने

रामचन्द्र बचाउँ अभियानको जगेडा रकम एनआरएनको वैदेशिक रोजगार कल्याणकारी राहत कोष अन्तर्गत व्यवस्थापनमा ल्याइने



काठमाडौ । वैदेशिक रोजगारीको क्रममा साउदी अरवमा सडक दुर्घटनामा परेका  रामचन्द्र तिमिल्सिनाको लागि ब्लड मनीवापत संकलीत रकम मध्ये पनौती नगरपालिकाको जिम्मामा रहेको रकम वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकाको नाममा खर्च गरिने भएको छ । वैदेशिक रोजगारीको क्रममा विदेशमा गई आपत्तमा परेकाको लागि रामचन्द्र बचाउँ अभियानको क्रममा संकलीत जगेडा रकम खर्चीने भएको हो ।
एनआरएनको वैदेशिक रोजगार कल्याणकारी कोष उपसमिति र पनौती नगरपालिकाबीच वैदेशिक रोजगारीको सिलसिलामा विपत्तमा परेकालाई सो रकम खर्चिने बारे एनआरएनए सहकोषाध्यक्ष एवं उपसमिति संयोजक सोम सापकोटा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानेबीच सो सहमती भएको हो ।
तत्कालीन समयमा रामचन्द्को जीवन रक्षाका लागि प्रवासबाट संकलीत रकममध्ये ३७ लाख १८ हजार पनौती नगरपालिका अन्तर्गत जगेडा कोषमा रहँदै आएको थियो । सो रकम एनआरएन वैदेशिक रोजगारी कल्याणकारी उपसमितिको पहलमा आज पनौती नगरपालिका वैदेशिक रोजगारीको क्रममा पीडामा परेका ब्यक्तीको लागि खर्च गर्न तयार भएको हो ।
पनौती नगरपालिका प्रमुख न्यापानेले वैदेशिक रोजगारीको क्रममा रामचन्द्र जस्ता धेरै हुन सक्ने र उनीहरुको विपत्तमा सो रकम खर्च गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले एनआरएनसँग सहकार्य गरेर जगेडा कोषको रकम यस्ता कुनै पनि विषयमा खर्च गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
सो क्रममा एनआरएन सहकोषाध्यक्ष एवं वैदेशिक रोजगारी कल्याणकारी समितिका संयोजक सोम सापकोटाले सो रकम रामचन्द्र जस्तै वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकालाई सहयोग गर्न खर्च गरिने जानकारी गराउनु भयो । उहाँले यस्ता अन्य संकलीत रकमको पनि खोजी गर्ने कार्य गरिने बताउनु भयो ।
 साउदी अरव जेलबाट छुटेर आएका रामचन्द्रले आफनो लागि संकलीत रकम मध्ये बाँकी रकमलाई आफू जस्तै वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकालाई खर्च हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा पनौती नगरपालिकाका कार्यकारी प्रमुख ध्यानकुमार थापा, चितवन युवा समूह अन्तर्राष्टिय समन्वय समिति सचिव गणेश ढकाल, पनौती नगरपालिका वडा नं ८ का वडाध्यक्ष केशव बञ्जारा लगायतको उपस्थिति थियो ।
काभ्रे पनौती नगरपालिका ३ घिमिरे गाउँका रामचन्द्र तिमिल्सना साउदीमा रोजगारीको सिलसिलामा सडक दुर्घटनामा परि २७ महिना १३ दिन जेल परेका थिए । रामचन्दले ब्लड मनीवापत ४५ लाख रुपैयाँ तीर्न नसकेपछि उनी जेल चलान भएका थिए । उनी जेल परे लगतै एनआरएन लगायत देश तथा बिदेशमा रहेका बिभिन्न सामाजिक संस्थाहरुले रामचन्द्र बचाउ अभियान सञ्चालन गरेको थियो ।
एनआरएन तथा सामाजिक संस्थाहरुले सकृयातामा रामचन्द्रले तीर्नु पर्ने रकम बुझाएपछि २०७४ साउन १५ गते जेलबाट छुटेका थिए ।
वैदेशिक रोजगार कल्याणकारी राहत कोष उपसमिति
गैरआवासीय नेपाली संघ
२९ जुन २०१८ ।