News

  • Home
  • News
  • युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न

युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न



गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ ।

बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पुर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ ।

युरोप उप–संयोजक गोबिन्द प्रसाद गौतमले सञ्चालन गर्नुभएको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक , युवा उपसयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नयाँ डिजिटल प्रविधीलाई सहज बनाउनुपर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने धारणा राख्नु भएको थियो । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा गर्नुभएको थियो ।

बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिला राज भन्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो । युरोप का २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरु,आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु महिला उपसयोजक, युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ
युरोप क्षेत्र ।