News

  • Home
  • News
  • युकेमा विभिन्न संघसंस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम

युकेमा विभिन्न संघसंस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम



लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायती गोखौ सैनिकहरुको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघले पहलकदमी लिने बताउनु भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालय भवन निर्माणका लागि रकम संकलन कार्यक्रममा सहभागी हुन बेलायतमा रहनु भएका अध्यक्ष घलेले भूपू गोर्खा सैनिकहरुका विभिन्न संस्थाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै समस्या समाधानका लागि अग्रसरता लिने प्रतिबद्धता जनाउनु भएको हो । गैरआवासीय नेपाली संघले भूपू गोर्खाहरुको मुद्दालाई समेटन नसकेको भन्दै सहभागीहरुले गुनासो गरेपछि घलेले यस्तो बताउनु भएको हो । बर्षौ देखी बेलायतमा बसोबास गर्दै आउनु भएका र यहीको स्थायी बसोबास गरिरहनु भएका तपाई गोर्खाहरु एनआरएन नभए अरु को हुन सक्छ ? अध्यक्ष घलेले भन्नु भयो – भूपू गोर्खा सैनिकहरु सच्चा एनआरएन हुन् । गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा भएको सो कार्यक्रममा अध्यक्ष घलेले बेलायत सरकार र नेपाल सरकारसंग सम्बन्धित मुद्दाहरु धेरै रहेकाले बेलायतमा गोर्खासंग सम्बन्धित संस्थाहरुको अगुवाईमा र नेपालमा गैरआवासीय नेपाली संघको अगुवाईमा समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने बताउनु भयो । ‘बेलायतमा एनआरएनहरु तपाईहरुको पछि लाग्छ; नेपालमा तपाईहरु एनआरएनको पछि लाग्नुस’ अध्यक्ष घलेले भन्नु भयो – जसको जाहाँ जाहाँ स्रोत साधन र पहुँच छ, त्यहीबाट समस्या समाधानका लागि पहल गरौं ।

 

भूपू गोर्खाहरुको मुद्दालाई एनआरएनले आत्मसात गरिदियोस भन्नु गैरआवासीय नेपाली संघ प्रतिको आशा र विश्वासका रुपमा आफुले लिएको अध्यक्ष घलेले बताउनु भयो । भूपू गोर्खाहरुको मागलाई कसरी उठाउने र त्यसमा के के कानुनी अड्चनहरु छन् भन्ने विषयमा विस्तृत अध्ययन गरेपछि अर्काे छलफलमा बस्ने अध्यक्ष घलेले बताउनु भयो । कार्यक्रममा एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्य, सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युकेका अध्यक्ष एवं पदाधिकारीहरु लगायतको सहभागीता थियो । गैरआवासीय नेपाली संघले भूपू गोर्खाहरुको समस्याका विषयमा सामूहिक छलफल गरेको यो पहिलो पटक हो । दुई घण्टा सम्म घलेको अन्तरक्रिया कार्यक्रममा भूपू गोर्खासंग सम्बन्धित विभिन्न संस्थाका दुई सय भन्दा धेरै प्रतिनिधिहरुको उपस्थीति थियो ।

 

एनआरएन र अन्य संस्था मिलेर काम गर्नु पर्छ : घले

यसैवीच  तमधी युकेले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले नेपाल बाहिर रहेका सबै नेपालीको हितमा गैरआवासीय नेपाली संघले कामगरिरहेको बताउनु भयो । नेपाल र सार्क मुलुक बाहिर जुनसुकै मुलुकमा बसेका जोसुकै नेपालीहरु, चाहे तपाई गोर्खा समुदायको हुनुहोस वा पेशाकर्मी, आप्रवासी कामदार हुनुहोस वा विद्यार्थी तपाई हामी सबै गैरआवासीय नेपालीहरु हौं । अध्यक्ष घलेले भन्नु भयो म यहाँहरुलाई निवेदन गर्न चाहन्छु की, गैरआवासीय नेपाली संघले यहाँहरु सबैका लागि काम गरिरहेको छ; चाहे गैरआवासीय नेपाली संघको सदस्य हुन वा नहुन ।

 

 

विदेशमा बस्ने नेपालीहरुको विभिन्न संस्था हुनु स्वभाविक हो भन्दै अध्यक्ष घलेले समुदाय तथा मातृभूमिका लागि सहअस्तित्व र सहकार्यको भावनाका आधारमा हातेमालो गर्नु पर्ने बताउनु भयो । यसो गर्दा हाम्रो समुदाय झन बलियो बन्दै जान्छ, हामी ठूलो शक्ति र स्रोत साधन युक्त बनेर समुदाय र मातृभूमिको सेवा गर्न सक्छौं अध्यक्ष घलेले भन्नु भयो । तमुधी युकेले भूकम्पका बेला एक करोड रुपैयाँ भन्दा धेरै संकलन गरी एनआरएनए मार्फत नेपाल पठाएको स्मरण गर्दै मातृभूमीका लागि सहयोग गर्ने सबै सहयोगी मनहरु प्रति आभार प्रकट गर्नु भयो । गैरआवासीय नेपाली संघले राष्ट्र पुन : निर्माणमा साझेदारी गर्ने लक्ष्य सहित काम गरिरहेको भए पनि संघ आफै सबल बन्न नसकेको उहाँले बताउनु भयो । संस्थाको सवलीकरण र दिगोपनाका लागि आफ्नै भवन निर्माण गर्ने अभियान थालिएको भन्दै उहाँले यो अभियानमा सहयोग गर्न सबैलाई हार्दिक आभार प्रकट गर्नु भयो ।

 

एनआरएन भवन बनाउन डेढ करोड बढी संकलन

यसैवीच अध्यक्ष शेष घलेको उपस्थितिमा लण्डनमा भएका कार्यक्रमबाट गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालय भवन निर्माणका लागि करिव डेढ करोड रुपैयाँ संकलन भएको छ । एनआरएनए युकेका अध्यक्ष मुछेत्र गुरुङका अनुसार रकम संकलन अभियान अहिले पनि जारी छ र यो क्रम अझ चलिरहने छ । एनआरएनए भवनका लागि सहयोग गर्न चाहने दाताहरुले एनआरएनए युकेलाई सम्पर्क गरिरहेको जानकारी दिंदै उहाँले कुल रकम यकिन हुन अभैंm केही दिन लाग्ने बताउनु भयो ।

रञ्जु वाग्ले थापा

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।

मिति : २०७२ पुस २०