News

  • Home
  • News
  • प्रधानमन्त्री दाहाल र एनआरएनएबीच भेट : नागरिकता विधेयक प्रमाणीकरणका लागि धन्यवाद व्यक्त

प्रधानमन्त्री दाहाल र एनआरएनएबीच भेट : नागरिकता विधेयक प्रमाणीकरणका लागि धन्यवाद व्यक्त



प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद व्यक्त गरेको छ । संघका उपाध्यक्ष आर. के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री दाहाललाई भेटी ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

 

भेटका क्रममा प्रधानमन्त्री दाहालसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकता सम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुयाउन आग्रह गर्नुभयो ।

 

साथै एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ । भेटका क्रममा उपाध्यक्ष शर्माले साना–साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघमार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताउनुभयो । साथै उहाँले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउँदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने बताउनुभयो ।

उहाँले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र आगामी दिन थप सशक्त रुपमा अघि बढ्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिटै कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

 

भेटका अवसरमा उपस्थित कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो । सो अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथाशक्य छिटो दूतावास स्थापना गरी त्यहाँ रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण समेत गराएको छ ।

 

भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।

५ जुन २०२३