News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको भेटघाट कार्यक्रम

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको भेटघाट कार्यक्रम



२०७३ असोज १० का दिन गैरआवासीय नेपाली दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मण्डलले माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा संग भेटघाट गरी तपसील अनुसार उल्लेख भएका विषयहरुमा छलफल भयो । सर्वप्रथम त उहांलाई महासचिव डा. के.सीले स्वास्थय मन्त्रीको पदभार सम्हाल्नु भएकोमा बधाईका साथै उहाँको कार्यकालको सफलतको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।

१. बिदेशमा बैदेशिक रोजगारकै दौरानमा दुर्घटनामा परी घाइते या अपांग हुनेहरू तथा सहजै कम खर्चमा उपचार हुननसक्ने गम्भीर प्रकृतिका रोगीहरूको पहिचान गरी निजलाई सम्बन्धित मुलुकका दूतावासहरूको सिफारिस तथा प्रमाणिकरणका आधारमा परिचय पत्र उपलब्ध गराउने र सो परिचय पत्रका आधारमा निजहरूको स्वदेश फिर्ती पश्चात नेपालका सरकारी अस्पतालहरूमा निशुल्क उपचार सुविधा प्रदान गर्नुपर्ने ।

२. वैदेशिक रोजगारमा जाने महिलाहरु गर्भवती भई नेपाल फकर्नु पर्ने अवस्थामा सो का लगि हुने खर्चहरु स्वास्थ्य विमाबाट व्यवस्था गरिदिनु पर्ने ।

 

माथिका यी दुई विषय लगायत हालै नेपालको नयां संविधानमा प्रावधन गरिएको राजनैतिक अधिकार बाहेकको गैरआवासीय नेपालीहरुलाई प्रदान गरिएको अधिकार बारे, स्वास्थ्य परिक्षणमा तोकेको भन्दा बढी शुल्क र गैरआवासीय नेपालीहरुका छोराछोरीको लागि नेपालका मेडिकल कलेजहरुमा आरक्षणका बारेमा छलफल भएको थियो । यस पछि अन्त्यमा माननीय मन्त्रीले उहांले स्वास्थ्य मन्त्रीको पद ग्रहण गरे पश्चात मन्त्रालयबाट गरिएका गतिविधिहरुको बारेमा जानकारी दिनु भयो । उहांले नेपालका कतिपय अस्पतालहरुमा किड्नी सम्बन्धि डायलेसिस गर्ने प्रविधिको अभाव, क्यान्सर भएका व्यक्तिहरुको उपचारको लागि बजेटको अभाव लगायत स्वास्थ्य सम्बन्धि विविध समस्याहरुबारे जानकारी दिनु भयो । उहांले वैदेशिक रोजगारमा जानेहरु र उनीहरुका परिवारलाई अनिवार्य स्वास्थ्य विमा गराउने बारे एक समिति गठन गरी पहल भईरहेको जानकारी गराउनु भयो । माथि १ र २ मा उल्लेख गरिएका विषयहरु प्रति सकारात्मक रुपमा पहल गरिने जानकारी गराउनु भयो । यसका साथै उहांले गैरआवासीय नेपालीहरुलाई प्रदान गरिने नागरिकता बारे जानकारी दिदै यस बारे कानुन बनिरहेको अवगत गराउनु भयो । संविधानको खेस्रा बनाउने बेला उहां आफू स्वयंम सो समितिमा रहेको र यसमा उहांले राजनैतिक अधिकार बाहेक सबै अधिकारहरु समावेश गरिएको जानकारी गराउंदै यसमा फेरी पनि अन्यौलका विषयहरुलाई कानुन बनाउने समयमा प्रष्ट पारीने आश्वासन पनि दिनु भयो । यसका साथै वैदेशिक रोजागरमा जानेहरुका लागि स्वास्थ्य परिक्षणमा लिइने अधिकत्तम शुल्क बारे सम्बन्धित निकायबाट जानकारी लिने बताउनु भयो । अन्त्यमा, नजिकै आईरहेको विजया दशमीको अग्रीम शुभकामनाको आदान प्रदान सहित भेटघाट कार्यक्रम समाप्त भयो ।

 

 

 

यस भेटघाट कार्यक्रममा महसचिव डा. बद्री के.सी लगायत महिला संयोजक सपीला राजभण्डारी, युवा उपसंयोजक लोकराज शर्मा, मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री, वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी, सल्लाहकार डा. हेम राज शर्मा, आइसिसि सदस्य गोविन्द प्रसाद गौंतम, पूर्व आइसिसि सदस्य सुरेन्द्र श्रेष्ठ र गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो । २०७३ असोज ११ का दिन मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि काकीसंग गएका प्रतिनिधिहरुले माननीय श्रम तथा रोजगार मन्त्री श्री सुर्य बहादुर गुरुङ र सचिव लक्ष्मण मैनाली संग वेग्ला वेग्लै भेट गर्यो । यस भेटघाट कार्यक्रममा मुख्यतया मध्यपूर्वमा विद्यमान रहेका समस्याहरुको समाधानको लागि सुझावहरु पढेर सुनाउनका साथै ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । यस ध्यानाकर्षणमा रहेका कतिपय विषयहरु सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधनमा परिसकेका छन् । अब यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको थियो ।

 

 

यसको प्रति उत्तरमा सचिवज्यूले सबै मागहरु जायज भएको र कतिपय मागहरुबारे छलफल पनि भईरहेको जानकारी गराउनु भयो । यसमा समावेशमा भएका कतिपय सुझावहरु बोर्डमा राखेर छलफल गरिने र सो छलफलमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरुलाई पनि समावेश गरिने बताउनु भयो । प्रस्तुत गरिएका मागहरुमा बजेट निकै लाग्ने र यस बारे बैकल्पिक बाटोहरुको उपाय पनि खोज्ने बारे अवगत गराउनु भयो । सो छलफल कार्यक्रममा वैदेशिक रोजगारमा जानेहरुको लागि तालिमको व्यवस्था केन्द्रमा मात्र सिमित नराखी सबै जिल्लामा लानु पर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिकुलम बनाउनु पर्ने, मध्यपूर्वमा कस्तो खाले सीपको बढी माग छ पत्ता लगाउनु पर्ने, वैदेशिक रोजगारमा जानेहरुको तथ्यांक राख्न, वैदेशिक राहत कोषलाई कार्यान्वयनमा ल्याउने आदि विषयहरुमा छलफल भएको थियो । यसै गरी माननीय मन्त्रीज्यूले पनि यसलाई सकारात्मक रुपमा लिई यस बारे पहल गरिने जानकारी दिनु भयो । यस अवसरमा उहांलाई सफल कार्यकालको लागि शुभकामना पनि दिइयो ।

 

आजको कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल, वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघन प्रसाद पुडासैनी, संघका तर्फबाट मध्यपूर्वका क्षेत्रीय संयोजक डि.बि क्षेत्री लगायत युवा उपसंयोजक लोक राज शर्मा, वैदेशिक रोजगार तथा आप्रवासीय कामदार कल्याण समितिका संयोजक इ. धरम के.सी र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय

२०७३।०६।११