News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न ३० अप्रिल २०२० ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न ३० अप्रिल २०२० ।



गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न भएको छ ।  कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीहरुको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करिब ४ दर्जनभन्दा बढी सहभागी थिए ।

टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सम्बोधन गर्नु भएको थियो । अहिले जति काम गरे पनि कम हुन्छ, यो सेवा गर्ने अवसर हो, त्यसको कुनै लिमिट नै छैन्,’ अध्यक्ष पन्तले भन्नु भयो, ‘संघले कोभिड–१९ उच्चस्तरीय समिति मार्फत् राहत तथा सहयोग कार्यक्रम मार्फत बिभिन्न देशमा गतिविधिहरु भइरहेका छन् ।’ अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताउनु भयो । उहाँले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संघले दीर्घकालीन रणनीति बनाउने तया गरिरहेको जानकारी दिनु भयो ।

संक्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र २५ सयभन्दा बढी नेपालीहरु कोरोना संक्रमित भएको जानकारी दिँदै अध्यक्ष पन्तले भने, ‘धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संघ सरकारसँग समन्वयन गरेर अगाडी बढेको छ ।’

‘कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था छैन् । विज्ञहरुले समेत भन्न सकेका छैनन् । यसले ल्याएका प्रभावको व्यवस्थापन गर्न ठूला चुनौति छन्’ अध्यक्ष पन्तले भने, ‘त्यसको लागि सबै जना मिलेर जान र सबै संयन्त्र परिचालन गर्न समेत आग्रह गर्दछु ।’

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्य सम्वन्धी गतिविधि सुरु गरेको जानकारी दिनु भयो । उहाँले महामारीको अवस्थामा पनि दुतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइएको बताउनु भयो । नेपाली समुदायको हितका लागि २४ सै घन्टा टेलिफोन तथा इमेल सेवा सुचारु गरिएको जानकारी दिँदै राजदूत ढुंगानाले भने, ‘एनआरएनए क्यानाडा र स्थानीय संघसंस्थाले दूतावासलाई ठूलो मद्दत गरेका छन् ।’ राजदूत ढुंगानाले क्यानाडामा रहेका नेपालीहरुको समस्याका बिषयमा क्यानडा सरकारसँग समेत छलफल भैरहेको बताउनु भयो ।

संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले महामारीपछि अमेरिकामा रहेका नेपाली प्रति दूतावास चिन्तित रहेको बताउनु भयो । उहाँले अमेरिकामा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको बताउनु भयो । महामारीपछि अमेरिकामा रहेका विद्यार्थी लगायत नेपाली समुदायमा जीवन यापन धान्नको लागि मुख्य समस्या रहेको जानकारी दिँदै राजदूत कार्कीले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघ सँग सहकार्य गरेर सहयोगको लागि कार्य गरेको बताउनु भयो ।

म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीलाई आफूले सक्दो सहयोग गरेको बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई निकै ठूलो सहयोग गर्दै आएकोमा खुशी व्यक्त गर्नु भयो ।

संघका महासचिव डा. हेमराज शर्माले महामारी बिरुद्ध लड्न एकजनाको प्रयासले मात्र सम्भव हुने नभएकोले बिभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदल मार्फत कार्य गर्न जोड दिनु भयो । उहाँले विदेशस्थित नेपाली दूतावाससँग समन्वयन गरेर अगाडि बढ्न सबै पक्षलाई आग्रह गर्नु भयो । महासचिव डा. शर्माले संघले कोरोना भाइरस प्रभावित ४५ देशमा ९ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत पाएको बताउनु भयो । उहाँले संघले नेपाल सरकारसँग छलफल गरिएको जानकारी दिँदै अन्तराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रकृया सुरु हुने बताउनु भयो । उहाँले कोभिड–१९ को महमारीलाई समाजमा योगदान दिने अवसरका रुपमा लिएर अगाडी बढ्न जोड दिनु भयो ।

संघकी उपाध्यक्ष रविना थापाले महामारीको बेला अमेरिकामा रहेका संघसंस्थालाई समेटर लैजान एनसीसीलाई सुझाव दिनु भयो । उहाँले कोरोना पीडितका लागि संकलित रकम वितरणको लागि गाइडलाइन आवश्यक हुने बताउँदै रकम संकलन गर्नभन्दा वितरण गर्न चुनौति भएको अनुभव उहाँले सुनाउनु भयो ।

संघका सचिव गौरीराज जोशीले कोभिड–१९ पीडितका लागि संकलित रकम आपसी समन्वयन बाट खर्च गर्न सुझाव दिनु भयो । उहाँले एक अर्काबीच सहकार्य गरेर महामारी बिरुद्ध लड्न जोड दिनु भएको थियो ।

आइसीसी सल्लाहकार हरिबोल भण्डारीले बैठकमा आएका सुझावलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले क्षेत्रीय च्याप्टरदेखि केन्द्र सम्म समन्वयन गरेर अगाडी बढेमा मात्र एनआरएनएले काम गरेको देखिने बताउनु भयो । अमेरिका स्थित नेपाली दूतावासले अझ तिव्र रुपमा कोभिड–१९ पीडितका लागि सहयोग गर्नु पर्ने बताउनु भयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युएसएका अध्यक्ष सुनिल शाहले एनआरएनए अमेरिकाले कोभिड–१९ सुरु भएको दिनदेखि नै सक्रिय रुपमा काम गरेको बताउनु भयो ।

बैठकलाई सम्वोधन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष  चिरञ्जीवी घिमिरेले  कोभिड–१९ बिरुद्ध लड्न नेपाली दूतावास क्यानडा र संघबीच एक्यबद्ध भएर अघि बढेको बताउनु भयो । उहाँले कोरोना प्रभावित क्यानाडाका बिभिन्न क्षेत्रमा स्वास्थ्य सम्वन्धी सामग्री वितरण गरिएको बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वले सबै राष्ट्रिय समन्वय परिषदहरुलाई सक्रिए बनाएर अघि बढेको र संसारभरका एनआरएनमा सकरात्मक सन्देश दिएको भन्दै प्रशन्नता प्रकट गर्नु भयो ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७ सय ५० र क्यानडामा १ सय ६० जना गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिएको जानकारी दिनु भयो । उहाँले कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप ४ हप्ता लकडाउन आवश्यक हुने पनि बताउनु भयो ।

चर्चित गायक प्रेमराजा महतले कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीको एउटै मन भएको बताउँदै सबै पक्षसँग मिलेर राहत वितरणमा लाग्न जोड दिनु भयो । यसैगरी डा. श्याम कार्कीले कोराना पीडित गैरआवासीय नेपालीको लागि योजनाबद्ध राहत वितरणमा जोड दिनु भयो ।

नेपाली अमेरिकन कम्युनिटीका प्रतिनिधि सुमन तिमल्सिनाले कोरोना पीडितका लागि तीनवटा हटलाइन सञ्चालन गरेको जाकारी दिनु भयो । उहाँले स्थानीय र एनसीसीले समन्वय कारी भूमिकामा काम भइरहेको जनाउनु भयो ।

नेपाली जनसम्पर्क समितिका नेता डा. यादव पण्डितले अमेरिकामा रहेका विद्यार्थीमा सुरुमा देखिए जस्तो अहिले समस्या नभएको जानकारी दिनु भयो । उहाँले नेपाली दूतावास अमेरिकाले प्रभावकारी रुपमा समन्वय नगरेको बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ परोपकारी संस्था भएर पनि निकै ठूलो काम गरेको भन्दै संघले सबै पक्षसँग समन्वय र संवाद गरेर अघि बढ्न सुझाव दिए ।

संघका विधान निर्माण समितिका सदस्य रविन बज्राचार्यले कोभिड–१९ को प्रभावित क्षेत्र न्यूयोर्क क्षेत्रमा सकृय हुन एनआरएनए युएसएलाई आग्रह गर्नु भयो । उहाँले संघले राहत वितरणमा अझ सक्रिय रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नको लागि सुझाव दिनु भयो । कोभिड–१९ को महामारीबिरुद्ध लड्न संघले फेसबुकमार्फत् जनचेतना लगायत स्वास्थ्य, विद्यार्थीका समस्या आदिका लागि हेल्पडेक्सको कार्यदल बनाएर काम भइरहेको जानकारी दिनु हुँदै उहाँले गैरआवासीय नेपाली संघ र नेपाल सरकारसँग समन्वयन गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल फर्कन चाहनेका लागि तथ्यांक संकलनको काम भइरहेको जानकारी दिनु भयो ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले कोभिड–१९ ले त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली प्रभावित भएको जानकारी दिनु भयो । उहँले एनआरएनए क्षेत्रीय समिति न्युयोर्कले कोरोना पीडितका लागि राहत वितरण गरिरहेको बताउनु भयो ।

अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन आइसिसि सदस्य प्रमोद सिटौलाले गर्नु भएको थियो भने स्वागत मन्तव्य अमेरिका क्षेत्रका क्षेत्रीय महिला संयोजक उमा थापाले गर्नु भएको थियो ।

बैठकमा डिआरसी रामसी पोखरेल, आइसीसी सल्लाकार एसी शेर्पा, संजय थापा, पुरुषोत्तम ढकाल, एची भण्डारी, विष्णुहरि घिमिरे, कृष्ण लामिछाने, प्रेम अधिकारी, शैलेश श्रेष्ठ, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय कृष्ण विजी पन्त, डिआर लामा, एनआरएनए कोभिड–१९ उच्चस्तीय समितिका प्रेस संयोजक चिरन शर्मा, अर्जुन बञ्जाडे, विष्णुमाया परियार, शंखर खड्का, डा. राजन पन्त, मञ्जु संग्रौला, शरद अर्याल, अभिमन्यु बस्नेत, कृष्ण लामिछाने, प्रकाश सापकोटा,  प्तिक रेग्मी, पुरुषोत्तम बोहोरा, सूर्य लम्साल र नारायण घिमिरेले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

अमेरीकाज् क्षेत्र
गैरआवासीय नेपाल संघ ।