News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा छलफलः

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा छलफलः



गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक टोलीले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना, गृह मन्त्री राम बहादुर थापा “बादल”, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र कानुन मन्त्री शेर बहादुर तामाङ्ग संग छुट्टा छुट्टै भेट गरी संविधानमा भएको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था लागु गर्नका लागि आवश्यक कानुनहरु यथाशक्य छिटो ल्याउने  व्यवस्था मिलाउन अनुरोध गर्‍यो । भेटघाटका अवसरमा अध्यक्ष भट्टले विश्वभरी छरिएर रहेका नेपालीलाई नेपाल संग जोड्ने र नेपालको समृद्धिका लागि गरिने काममा साझेदार बनाउने पवित्र उद्देश्यका साथ अघि बढेको गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालाई आत्मसाथ गरेको बताउनु भयो । उहाँले नेपालको संविधान संविधानले गरेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी शिघ्र कार्यान्वयनका लागि अनुरोध गर्नु भयो ।

संघका उपाध्यक्ष कुल आचार्यले संविधानको व्यवस्था कार्यान्वयनका लागि ऐन नियमको तर्जुमा आवश्यक भएको र सरकारका सम्बन्धित निकायले ऐनको तर्जुमा गरिरहेको भन्ने बुझिएकोले ऐनमा संविधानको भवाना अनुसार व्यवस्था गरिदिन,  प्रकृयाहरु प्रष्ट तोकिदिन र भविष्यमा व्यक्तिपरक व्याख्या हुन सक्ने अवस्था आउन नदिने गरी कानुन बनाईदिन अनुरोध गर्नु भयो । साथै उहाँले त्यस्तो नागरिकता पाउने व्यक्तिले अन्य नेपाली नागरिक सरह आर्थिक सामाजिक एवं साँस्कृतिक अधिकार उपभोग गर्ने र अरु नेपाली नागरिक जस्तै देश विदेशमा समेत नेपाल सरकारले प्रदान गर्ने राहदानी बोकेर हिड्न पाउने व्यवस्था गरिदिन समेत अनुरोध गर्नु भयो । भेटमा संघका सहकोषाध्यक्ष सोम सापकोटाले गैरआवासीय नेपालीहरु बाट मुलुकले फाइदा सक्ने भएकोले सम्बन्ध तोड्ने होइन जोडनका लागि पहल गर्नु पर्ने धारणा राख्नु भयो ।

भेटघाटमा गैरआवासीय नेपाली संघको तर्फबाट संघको आयोजनामा आगामी दिनमा अमेरिकाको सान्फ्रान्सिस्कोमा हुन लागेको क्षेत्रीय विज्ञ सम्मेलन, लग्जेम्वर्गमा हुने युरोपियन क्षेत्री बैठक तथा महिला भेला र काठमाडौंमा हुने विश्वव्यापि विज्ञ सम्मेलन आदिका बारेमा समेत जानकारी गराईएको थियो । भेटमा वैदेशिक रोजगारमा गएकाहरुको समस्या बारे पनि जानकारी गराईएको थियो ।

भेटघाटका अवसरमा गृह मन्त्री राम बहादुर थापाले नागरिकता सम्बन्धि कानुनको तर्जुमा गृह मन्त्रालयबाट हुने र त्यसमा संविधानको भावना अनुरुप नै प्रावधान राखिने आश्वासन दिनु भयो ।

भेटघाटकै अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सबै पक्षको सहमतिमा नै संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखिएको र गृह मन्त्रालयमा तर्जुमा भईरहेको विधेयकको मस्यौदा प्राप्त भएपछि आफ्ना Inputs हरु दिने आवश्यक परे गैरआवासीय नेपाली संघ संग समेत परामर्श गर्ने विश्वास दिलाउनु भयो । उहाँले संघले पनि संविधानको व्यवस्था कै परिधिमा रहि लिखित रुपमा सुझाव दिन आग्रह गर्नु भयो ।

त्यस्तै कानुन मन्त्री शेर बहादुर तामाङ्गले कानुनको तर्जुमा अरु मन्त्रालयमा हुने भएपनि त्यसमा कानुन मन्त्रालयको अह्म भूमिका रहने र संविधानको व्यवस्था अनुकूल नै ऐन तर्जुमा हुने कुरा बताउनु भयो । उहाँले आवश्यक परे संघ संग समेत परामर्श गर्ने विश्वास दिलाउनु भयो ।

भेटका अवसरमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनाले आफ्नो भूमिका समन्वयकारी रहेकोले आफैले ऐन मस्यौदा गर्न वा व्यवस्था गर्न नसक्ने तर सबै पक्षको भावना समेट्न समन्वय गर्ने विश्वास दिलाउनु भयो । यसरी नै २७ मई २०१८ का दिन उपाध्यक्ष कूल आचार्यको नेतृत्वको एक प्रतिनिधि मंडलले परराष्ट्र सचिव शंकर दास बैरागी संग भेट गर्‍यो । भेटका अवसरमा प्रतिनिधि मंडलका सदस्यहरुले हाल गैरआवासीय नेपाली नागरिकता सम्बन्धी तर्जुमा भईरहेको विधेयक माथि छलफल गरेको थियो । भेटमा वैदेशिक रोजगारमा गई समस्यामा परेकाहरुको समस्या न्युनीकरण एवं समाधान गर्न, वैदेशिक रोजगारीमा जाने मुलुकमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरु दर्ता गर्न, नियोगहरुमा भाषा र स्थानीय कानुन जान्ने व्यक्तिहरुको व्यवस्था गरिदिन र ति मुलुकमा जेलमा परेका नेपालीहरुलाई कानुनी उपचारका साथै जेलबाट मुक्त गर्ने वातावरण बनाईदिन अनुरोध गरियो । यस बारे सचिव वैरागीले गृह मन्त्रालयमा तर्जुमा भईरहेको विधेयकको मस्यौदा प्राप्त भएपछि यसमा मन्त्रालयको तर्फबाट Inputs आवश्यक परे गैरआवासीय नेपाली संघ संग समेत परामर्श गर्ने विश्वास दिलाउनु भयो ।

 

माथिका भेटघाट कार्यक्रममा संघका भवन भट्ट, उपाध्यक्ष कूल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा, युरोपका क्षेत्रीय संयोजक शिव बरुवाल लगायत गैरआवासीय नेपालीहरुको उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघ ।