News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको औपचारिक उद्घाटनः १९ सेप्टेम्बर २०२०

गैरआवासीय नेपाली संघको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको औपचारिक उद्घाटनः १९ सेप्टेम्बर २०२०



गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको आज शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताउनुभयो ।
संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नु भयो ।
‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ ’ पुर्व मन्त्री थापाले भन्नुभयो ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उहाँको तर्क थियो ।
पूर्व मन्त्री थापा भन्नुहुन्छ ‘महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु भने हो त्यो अभाव देखिएको छ’
कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा उहाँले राख्नु भयो ।
समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताउनु भयो ।
‘देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूबर्ण भूमिका खेलेको छ । कतिपय राजदूतावास नभएका मुलुकमा रहेका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैका लागि चाहिन्छ भन्ने प्रमाणीत गरिदिएको छ’ अध्यक्ष पन्तले भन्नु भयो ।
कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भुमिका खेलेको उहाँको तर्क थियो ।
एनआरएनएले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन सरकारलाई पटक पटक आग्रह गरे पनि सरकारले सिमित संख्यामा मात्रै नेपालीहरुलाई स्वदेश फर्काउँदा समस्या निम्तिएको उहाँले उल्लेख गर्नु भयो ।
‘कतिपयको करार अवधि सकिएर घर नफर्कि नहुने अवस्था छ । यस्तो अवस्थाका नेपालीहरु स्वदेश फर्किराख्नुभएको छ । तर यो संख्या पर्याप्त छैन । धेरैभन्दा धेरै नेपालीहरुलाई स्वदेश फर्काउन हामीले सरकारसँग पहल गरिरहेका छौँ’ अध्यक्ष पन्तले भन्नुभयो ।
एनआरएनएका अध्यक्ष पन्तले समितिले आयोजना गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको सफलताको कामना समेत गर्नुभयो ।
संसारभरीका अरु स्वास्थ्यकर्मीहरुलाई समेट्ने समतिको योजना सफताको समेत कामना गर्नुभयो ।
सोही कार्यक्रममार्फत अध्यक्ष पन्तले एनआरएनएले विश्व ज्ञान सम्मेलन समेत गर्न गइरहेको जानकारी गराउनु भयो ।
राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताउनु भयो ।
पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड –१९ ले स्वास्थ्यमा मात्रै नभएर आर्थिक, समाजिक क्षेत्रमा पनि निकै ठूलो असर पारेको र यसको असर लामो समयसम्म कायम रहने बताउनु भयो ।
                                                       
‘हाम्रो मातृभूमि कोरोनासँग लडिरहेको छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ।
त्यस्तै यो दोस्रो विश्व स्वास्थ्य सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
एनआरएनएका महासचिव डा हेमराज शर्माले कार्यक्रममा बोल्दै कोरोना संक्रमणसँग जुध्न संघले सुरुदेखि नै उच्चस्तरीय समिति गठन गरेर अगाडी बढेको बताउनु भयो ।
समितिले नेपालीहरुको अवस्था, समस्या परेकाहरुलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिन सम्बन्धित सबैसँग समन्वय गरी हरेक हप्ता नेपालीहरुको स्वास्थ्य अवस्थाबारे बुलेटिन प्रकाशन गरिएको उहाँले उल्लेख गर्नु भयो ।
गन्तव्य मुलुकका सरकार, नेपाल सरकार, कुटनीतिक नियोग लगायत सबैसँग नजिक रहेर काम गर्ने अबसर समेत कोरोना महामारीको समयमा जुटेको उहाँको भनाई थियो । विशेषगरी मध्यपूर्वका मुलुकमा रहेका नेपाली श्रमिकहरुको हकहित का लागि आइएलोसँग प्रोजेक्ट सुरु गरेको उहाँले उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताउनुभयो ।
सम्मेलनले संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले यस्तो महामारीमा पनि दोस्रो विस्व स्वास्थ्य सम्मेलन आयोजना गर्न सफल भएकोमा एनआरएनएको स्वास्थ्य समितिलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सफलताको कामना समेत गर्नुभयो ।
स्नेहा सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए महिला संयोजक भोमा गुरुङ, एनआरएनए युवा संयोजक हिमाल गुरुङ आइओएम युएन माइग्रेसन कन्ट्री डाइरेक्टर लान्दो लोरेना लगायतले पनि आफ्नो धारणा व्यक्त गर्नु भएको थिाये । त्यस्तै विभिन्न मुलुकमा रहेका युवाहरुले समेत कार्यक्रममा धारणा राख्नु भएको थियो ।
२ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको उक्त सम्मेलनमा एनआरएनएका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्र्दै आइतबार सकिनेछ ।
चेतनाको अभावमा बढ्दै महिलामा स्वास्थ्य समस्या
गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार महिलाको स्वास्थ्य र अवसर विषयक कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त भर्चुअल कार्यक्रममा महिला विशेषज्ञ, महिला अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै एनआरएनए कोरियाकी सदस्य जुनु गुरुङले कोरियामा रोजगारीमा गएका महिलाहरु धेरै समस्यामा रहेको बताउनु भयो ।
‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा आउँनुहुन्छ । कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम गर्ने बानी नभएकाहरुलाई समस्या परेको छ’ गुरुङले भन्नु भयो ।
उहाँकाअनुसार ढाड दुख्ने लामो समयसम्म काम गर्दा अन्य समस्या देखिने गरेकाले महिलाहरु काम छाडेर भाग्ने, आत्महत्या गर्ने प्रवृति बढेको छ ।
समस्यामा परेका महिलाहरुलाई सहयोगका नाममा पुरुषहरुले यौन शोषण गर्ने प्रवृति समेत कोरियामा रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तो समस्या हुन नदिन नेपालबाट कोरिया उड्नुभन्दा अगाडी नै आफूले गर्ने काम र कोरियाको अबस्थाबारे बुझेर जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले नेपाली महिलाहरुलाई किशोरावस्थादेखि नै आफ्नो शारिरीक परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा जानकारी नहुँदा यसले लामो अबस्था सम्म असर पारिरहेको बताउनु भयो ।
सानै उमेरमा गरिने बिबाह, अशिक्षा, कम उमेरमा गर्भधारण गर्दा पनि महिलाहरुमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगिरहेको उहाँले बताउनु भयो । नेपालजस्ता पुरुषप्रधान मुलुकमा महिलाहरुले केही काम गर्न सक्दैनन् भन्ने धारणाले गर्दा पनि महिलाहरुले आफूलाई कमजोर महशुस गर्ने हुँदा यसले पनि मानसिक असर पारिरहेको उहाँले बताउनुभयो ।
डा सुजिता श्रेष्ठले कार्यक्रममा बोल्दै विश्वमा प्रत्येक वर्ष १५ लाख स्तन क्यान्सरका विरामी थपिने गरेको बताउनु भयो । नेपालमा पाठेघरपछि दोस्रो सबैभन्दा बढी स्तन क्यानसर हुने गरेको उहाँको भनाई छ ।
‘स्तन क्यान्सरबाट जोगिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । स्तनमा गाँठाहरु देखिए । छालाको रंग तथा बनावटमा परिवर्तन आउने लगायत लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ’ डा श्रेष्ठले भन्नुभयो ।
डा एलिजा श्रेष्ठले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहेको बताउनु भयो ।
डा श्रेष्ठकाअनुसार महिनावारी भइसकेपछि लामो समयसम्म पनि रगत बगिरहनु, यौनसम्मर्क गर्दा पटकपटक रगत बग्नु, गन्हाउने पानी बग्नु जस्ता लक्षणहरु पाठेघरको क्यान्सर हुँदा देखिन्छन् ।
यस्ता लक्षणहरु देखिने बित्तिकै तत्काल अस्पताल जानुपर्ने तथा बेलाबेलामा पाठेघर परीक्षण गराउनुपर्ने उहाँको भनाई छ ।
‘पाठेघरको मुखको क्यान्सरको पहिलो, दोस्रो, तेस्रो र चौथो चरण हुन्छ । पहिलो चरणमा सर्जरी गरेर पाठेघर डिम्बासय र वरपरको ग्रन्थी निकाल्छौँ । ग्रन्थीहरुमा पनि क्यान्सर देखियो भने रेडियो थेरापी गर्छौँ । अर्को भनेको किमो थेरापी पनि हो ’ डा श्रेष्ठले भन्नु भयो ।
नेपालमा पाठेघरको मुखको क्यान्सर भएकाहरु समयमा अस्पताल नपुग्ने हुँदा उपचारमा समस्या हुने गरेको उहाँले उल्लेख गर्नु भयो । जनचेतनाको अभाव, लाज तथा आफ्नो आर्थिक समस्याका कारण पनि महिलाहरु अस्पताल जान नसकेको उहाँले उल्लेख गर्नुभयो ।
रेस्मा प्रसाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा साउदीबाट यस्मिन बेगम सइदले कार्यक्रमको समग्र विषयको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
डा सुजिता श्रेष्ठ, डा एलिजा श्रेष्ठ, एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बु, कोरियाबाट जुनु गुरुङ लगायतले महिला स्वास्थ्यका बारेमा धारणा राख्नु भएको उक्त कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका अन्य स्वास्थ्यकर्मीहरु, विज्ञ तथा विभिन्न पेशामा कार्यरत महिलाहरुको उपस्थिति थियो ।