News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा परराष्ट्र मन्त्रीसंग भेट

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा परराष्ट्र मन्त्रीसंग भेट



गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्री श्री महेन्द्रबहादुर पाण्डेसंग भेट गरी गैरआवासीय नेपाली संघको कृयाकलाप र आगामी अधिवेशनवारे छलफल गरेको छ ।  अध्यक्ष घलेले संघको सातौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोवर महिनाको १४ देखि १७ तारिक आयोजना गर्न लागेको जानकारी गराउँदै बिगतमा झैं परराष्ट्र मन्त्रीको अध्यक्षमा उच्चस्तरीय आयोजक समितिको गठन गरिदिन अनुरोध गर्नु भयो । अध्यक्ष घलेले विश्वभर रहेका संघका राष्ट्रिय समन्वय परिषद्हरुका राष्ट्रिय महाधिवेशनहरु चलिरहेको र कार्यसमितिका पदाधिकारी हुन कुनै पनि राजनीतिक पार्टी, धार्मिक तथा जातिय संगठनको कार्यकारी पदमा रहेका व्यक्तिहरुले सो पदबाट राजिनामा गरे पछिमात्र उम्मेद्वारी दिन पाउने व्यवस्था कायम गरेको अवगत गराउँदै राष्ट्रिय महाधिवेशनहरु सेप्टेम्बर १५ अगावै सम्पन्न गरी सक्न निर्देशन गरिएको जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष घलेले संघको विद्यमान विधानलाई समावेशी र समयसापेक्ष वनाउन परिमार्जन गर्न जरुरी रहेको तथा संघको परिमार्जित विधान परराष्ट्र मन्त्रालयले अनुमोदन गरेपछि मात्र अधिकारीक हुने भएकोले यस्ता परिमार्जन गर्नू पूर्व परराष्ट्र मन्त्रालयसंग समन्वय गरी गर्दा अनुमोदन गर्न सहज हुने औंलाउनु भयो । यसै गरी महाभूकम्पले ल्याएको महाविपत्तिलाई मध्य नजर गर्दै संघको अन्तराष्ट्रिय महाधिवेशन पनि विधानले व्यवस्था गरे अनुरुप ६ महिना पछि सार्न सुझावहरु प्राप्त भएता पनि गैरआवासीय नेपाली संघको संचालन विधि तथा कार्यतालिका नविग्रियोस् भनेर निर्धारित समयमै महाधिवेशन गर्न लागिएको जानकारी गराउनुभयो । नेपालमा पर्यटकको आगमन घटि रहेको अवस्थामा विश्वभरबाट गैरआवासीय नेपालीहरु नेपाल आएमा यसले राम्रो सन्देश दिन तथा नेपालको पर्यटकीय क्षेत्रलाई समेत केहि सहयोग हुने बिश्वासका साथ विश्व सम्मेलन तथा महाधिवेशन निर्धारित समयमै गर्ने निर्णय गरेको वताउनु भयो ।

 

सो अबसरमा परराष्ट्र मन्त्री पाण्डेले गैरआवासीय नेपाली संघले विधिविधान अनुसार प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने परिपाटीको बिकास गरेकोमा यसको सरहाना गर्दै विधि, नीति, तथा कार्यक्रम मतदाता समक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्ने यो नै उपयुक्त प्रणाली भएको वताउनु भयो । उहाँले बिदेशमा नेपालीहरुको अत्याधिक संघसंगठन गठन भएकाले पनि प्रभावकारीतामा ह्रास आएको औंलाउनु भयो । उहाँले नेपाल सरकार र गैरआवासीय नेपाली संघ बीच हातेमालो गरी सहकार्य गर्दा राष्ट्रलाई फाईदा हुने र नेपालमा संघले आफ्ना क्रियाकलापहरु गर्दा नेपाल सरकार वा नेपाल सरकारका स्थानिय निकायसंग र बिदेशमा सरकारले विभिन्न कार्यक्रमहरु गर्दा संघसंग सहकार्य र समन्वय गर्न उपयुक्त हुने वताउनु भयो । परराष्ट्र मन्त्रीले छिटै संघियता सहितको संविधान आउने र संविधना प्राप्तिका लागि धरै सहमति, सहभागीता र विचारको आदान प्रदान भई रहेको जानकारी गराउँदै प्रजातान्त्रिक पद्धति अनुसार सबैलाई समेट्ने गरी संविधान जारी गर्न दलहरु प्रतिवद्ध भएको वताउनु भयो ।

 

अन्त्यमा, उच्चस्तरीय आयोजक समितिको गठन गर्न मन्त्रालयले छिटै वैठक गर्ने जानकारी दिंदै परराष्ट्र मन्त्री पाण्डेले विधानमा समसमायिक परिमार्जन गर्न संघको प्रतिनिधिहरुसंग मन्त्रालय छलफल तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो । संसारभरी नै गैरआवासीय नेपाली संघ नेपाली राजदूतावास तथा नियोगहरुसंग मिलेर काम गरिरहेको र नेपाली नियोग नभएका ठाउँमा समेत संघले नेपाल सरकारको प्रतिनिधिका रुपमा नेपालीहरुका समस्या समाधानका लागि सक्रियतापूर्वक खटिरहेको भन्दै उहाँले गैरआवासीय नेपाली संघको प्रसंसा गर्नुभयो । प्रतिनिधि मण्डलमा संघका कोषाध्यक्ष डा. बद्री केसी, क्षेत्रिय उपसंयोजक सोनाम लामा, अमेरिकाका आईसीसी सदस्य नविन शेरचन तथा सचिवालयका कार्यकारी निर्देशक राजेश शम्शेर राणाको सहभागिता थियो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय

काठमाण्डौ ।

मिति: २० श्रावण, २०७२ ।