News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले अगष्ट १६ र १७ मा गर्नुभएका भेटहरुः

गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले अगष्ट १६ र १७ मा गर्नुभएका भेटहरुः



काठमाण्डौं । यूरोप तथा कतारको दोहामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्हरुको महाधिवेशनहरुमा भाग लिई अष्ट्रेलिया फर्कने दौरानमा अध्यक्ष घलेले अगष्ट १६ र १७ का दिन नेपाल बन्धको असहज परिस्थिति बाबजुत पनि विभिन्न विशिष्ट व्यक्तिहरु संग भेट गर्नु भएको थियो।

संघका अध्यक्ष र मुख्य सचिव बीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. सोमलाल सुवेदीसंग भेटवार्ता गर्नुभएको छ ।

 

भेटमा अध्यक्ष घलेले हालैको महाभूकम्पका बेला संसारभर छरिएका गैरआवासीय नेपालीहरुले राष्ट्रबासीलाई निस्वार्थ भावनाले सहयोग पुर्‍याएको अबगत गराउँदै महाभूकम्पका बेला गरिएको सहयोग सम्बन्धी प्रतिबेदन मुख्य सचिवज्यूलाई हस्तान्तरण गर्नुभयो । सो अबसरमा उहाँले संसारभरका गैरआवासीय नेपालीहरु स्वयंसेवकका रुपमा गाउँगाउँ परिचालित भई करिव १७ हजार परिवारलाई राहत पुर्‍याएको अबगत गराउनुभयो । गैरआवासीय नेपालीहरु राष्ट्र पुन:निर्माणको सच्चा साझेदार बन्न चाहेको उल्लेख गर्दै अध्यक्ष घलेले एक हजार घर निर्माणका लागि संघ तयारी अबस्थामा रहेको जानकारी गराउनुभयो । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हरेक दुई वर्षमा आयोजना गरिने गैरआवासीय नेपाली बिश्व सम्मेलन तथा संघको महाधिवेशन आगामी अक्टोवर महिनाको १४ देखि १७ सम्म आयोजना हुन गईरहेको अवगत गराउँदै, सदाझै नेपाल सरकारको पूर्ण सहयोगको आपेक्षा राखेको अध्यक्ष घलेले बताउनु भयो । मुख्य सचिव डा.सुवेदीले गैरआवासीय नेपाली संघ तथा नेपाल सरकारको संयुक्त पहलमा मध्य नेपालदेखि पूर्वी नेपाललाई समावेश गरी पर्यटकीय दृष्ट्टिकोणले उपयुक्त एक पैदल मार्गको बिकास गर्न सुझाव दिदैं यस मार्गको आवश्यक खाका तयार पारी एक सम्झौता पत्र हस्ताक्षर गर्न आफूले सहयोग गर्ने बताउनु भयो । उहाँले श्रमकालागि बिदेशिएका नेपालीहरु बिदेशमा नेपालीहरुबाटै पीडित भएकोतर्फ संघ सचेत हुन पर्ने सुझाव दिदैं यसलाई न्यूनिकरण गर्नेतर्फ पहल गर्न अनुरोध गर्नु भयो । प्रति उत्तरमा अध्यक्ष घलेले पर्यटन बिकासमा संघले सक्दो सहयोग गरिरहेको र नेपाल सरकारसंगको सहकार्यमा एक पैदल मार्गको बिकास गर्न संघ तयार रहेको वताउँदै श्रमिकहरुको समस्याहरु प्रति संघ चनाखो रहेको तथा संघको छाता भित्र बसी श्रमिकहरुको हित बिपरित काम गर्ने जो कोहीलाई पनि संघको तर्फबाट आवश्यक करवाही गरिने बताउनु भयो । अध्यक्ष घलेले संघले नेपाल सरकारको तर्फबाट प्राप्त गरिरहेको सहयोगको लागि धन्यवाद दिंदै डा. सुवेदीको कार्यकालमा एनआरएन र नेपाल सरकारवीचको सहकार्य नयाँ  उचाई पुग्ने बिश्वास लिएको बताउनुभयो । साथै अध्यक्ष घलेले नवनियुक्त मुख्य सचिवलाई सफल कार्यकालका लागि सम्पूर्ण गैरआवासीय नेपालीका तर्फबाट शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

संघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष बीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासंग भेटवार्ता गर्नुभएको छ ।

 

 

महासंघले गैरआवासीय नेपाली संघलाई स्थापनाकाल देखि नै पुराउँदै आएको सहयोग र सहकार्यको लागि अध्यक्ष घलेले धन्यवाद दिनु भयो र नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरअवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गर्ने गैरआवसीय नेपाली विश्व सम्मेलन आगामी अक्टोबर १६ देखि १७ सम्म हुन गई रहेको अवगत गराउँदै महासंघको सहभागीता र आवश्यक सहयोगको लागि अनुरोध गर्नु भयो । महासंघका अध्यक्ष मुरारकाले संघलाई आवश्यक सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको र आवश्यक सहयोगको लागि कुनै हिचकिचावट विना महासंघलाई अनुरोध गर्न आग्रह गर्नु भयो । उहाँले हाम्रो मातृभूमी संविधान वनाउने गहन जिम्मेवारीबाट गुज्रिरहेको र हाल प्रस्तुत मस्यौदा संविधान लगानी मैत्रि नभएको तथा यसले संविधानमा प्रस्तावित संघीयतामा कर प्रणालीको स्वरुपवारे केहि उल्लेख नगरेकोले भविष्यमा यसले जटिलता पैदा गर्न सक्ने औंलाउनु भयो । अध्यक्ष मुरारकाले अध्यक्ष घलेको कार्यकाल अनुकरणिय र फलदायी भएको र यस्तो वन्द हड्तालका वावजुत पनि आफ्नो कार्यक्रमहरु संचालन गरेकोमा प्रशंसा गर्नु भयो ।

संघका अध्यक्षको कतारका राजदूतसंग भेट

संघका अध्यक्षले अगष्ट १६ का दिन कतारका राजदूत महामहिम अहमेद जासेम अलहमारसंग भेट गर्नु भयो र गैरआवसीय नेपाली संघको संजालवारे जानकारी गराउँदै महाभूकम्प ताका संघले पूराएको प्राथमिक राहत तथा संचालन गरेका स्वस्थ शिविरहरु वारे जानकारी गराउँदै आगामी दिनमा संघले पीडितका लागि निर्माण गर्न लागेको १००० आवास गृहहरु बारे समेत अवगत गराउनु भयो । उहाँले आफू हिजै मात्र राष्ट्रिय समन्वय परिषद् कतारको महाधिवेशनमा भाग लिई फर्केको र गाडीका दश मूलूकहरुमा संघका संजालहरु रहेका र मूख्यतय यस क्षेत्रमा रहेका श्रमिकहरुलाई संगठित गरी उनीहरुका हकहितका लागि गन्तव्य मूलूक तथा नेपालमा संघले विभिन्न कार्यक्रमहरु संचालन गर्दै नेपाल सरकारलाई श्रमिक मैत्रि नीति निर्माण गर्न सूझाव दिंदै आएको जानकारी गराउनु भयो । नेपालमा लगानी भित्राउन समेत गैरआवासीय नेपाली संघले विभिन्न भूमिका खेल्दै आएको र यसै परिपेक्षमा कतारबाट कस्ता लगानीहरु नेपाल भित्राउन सकिन्छ भनि महामहिम र अध्यक्षवीच छलफल भएको थियो । यसै गरी महाभूकम्पबाट भएका क्षेतिहरुका पूनरनिर्माणमा कतार सरकारबाट गरिन सक्ने आर्थिक तथा प्राविधिक सहयोग र  कतार सरकारबाट उपल्वध हुन सक्ने अनुदानाहरुबारे समेत अन्तक्रिया भएको थियो ।

संघका अध्यक्षको यूएन ओमनको प्रतिनिधिसंग भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले अगष्ट १६ का दिन यूएन ओमनका कार्यक्रम विशेषज्ञ सरु जोशीसंग भेट गर्नु भयो र भेटमा सल्लाहकार डा. गणेश गुरुङ्गको पनि सहभागीता रहेको थियो । सो अवसरमा सरु जोशीले लैङ्गिक समानतामा बिस बर्षयता भएको प्रगती र उपल्बधी सम्बन्धी जानकारी गराउनु भएको थियो र खासै उपल्बधी मुलक नभएको र यही रफतामा जाने हो भने लैङ्गिक समानता नारामा मात्र सिमित हुने औंलाउनु भयो । यसै परिपेक्षयमा लैङ्गिक समानता तथा महिला सशक्तिकरणलाई थप बल प्रदान गर्न नयाँ उर्जाकासाथ अघि बढाउन पर्ने तथा निजी क्षेत्रको समेत यस कार्यमा सहभागीता गराईनु पर्नेमा उहाँले जोड दिनु भयो । आगामी २६ सेप्टेम्बर २०१५ मा नयाँ दिगो बिकास लक्ष्यका विश्वका नेताहरुले न्यूयोर्कमा उदघोष गर्ने कार्यक्रम रहेको र यस कार्यमा यूएन ओमन, अलिबाबा समूह तथा विल एण्ड मेलिण्डा गेटस् फाउण्डेशन्ले निजी क्षेत्रका साझेदारहरुलाई समेत आमन्त्रण गरेको जानकारी दिंदै संघका अध्यक्षलाई समेत आमन्त्रण गर्नु भयो । संघका अध्यक्षले २०१४ को गैरआवासीय नेपाली दिवसको अवसर पारेर यूएन ओमनको आह्वानमा Women Empowerment Principal अन्तर्गत गैरआवासीय नेपालीहरुले संचालन गरेका व्यवसायहरुमा यसको अवधारणा लागू गर्न एक सम्झौता पत्रमा हस्ताक्षेर गरेको स्मरण गराउँदै यूएन ओमनसंग एक साझौता पत्रमा समेत हस्ताक्षेर गरी केहि कार्यहरु अघि बढाएको वताउनु भयो । अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुको अक्टोवरमा हुने महाधिवेशन र विश्व सम्मेलनका कारण आफू उक्त कार्यक्रममा सहभागी हुन नसक्ने वताउँदै Women Empowerment Principal का बारेमा आगामी एनआरएन विश्व सम्मेलन ताका थप छलफल गरी कृषि, उर्जा तथा पर्यटनका क्षेत्रहरुमा समेत यसको अवधारणा लागू गर्ने प्रयास गर्न सकिने बताउनु भयो ।

संघका अध्यक्षको जर्मनीका राजदूतसंग भेट

संघका अध्यक्षले अगष्ट १७ का दिन जर्मनीका राजदूत महामहिम म्याथयाज मियर तथा प्रथम सचिव डेरिक स्टेफेन्स्संग भेट गरी गैरआवासीय नेपाली संघका स्थापना र उदेश्यहरुवारे अवगत गराउँदै महाभूकम्प ताका संघले पूराएको प्राथमिक राहत तथा संचालन गरेका स्वस्थ शिविरहरु वारे जानकारी गराउनु भयो र आगामी दिनमा संघले पीडितका लागि निर्माण गर्न लागेको १००० आवास गृहहरु बारे समेत अवगत गराउनु भयो ।

 

 

उहाँले आफू भर्खरैमात्र जर्मनीवाट फर्केको र अगष्ट १२ तारिख फ्र्याङ्गफर्टमा बसोवास गरिरहेका गैरआवसीय नेपालीहरुसंग भेट गरेको जानकारी गराउँदै राष्ट्रिय समन्वय परिषद् जर्मनीेले गरेका गतिविधिहरुवारे प्रष्टाउनु भयो । यसै गरी महाभूकम्पबाट भएका क्षेतिहरुका पूनरनिर्माणमा जर्मन सरकारबाट कस्ता आर्थिक तथा प्राविधिक सहयोगहरु प्राप्त गर्न सकिन्छ र नेपालमा लगानी भित्राउन नेपाल स्थित जर्मन दूतावास र गैरआवासीय नेपाली संघले कस्ता भूमिकाहरु  खेल्न सक्छन् भन्नेवारेमा महामहिम र अध्यक्षवीच छलफल भएको थियो।

संघका अध्यक्षको निदरल्याण्डस्का काउन्सरसंग भेट

संघका अध्यक्षले अगष्ट १७ का दिन निदरल्याण्डस्का काउनसुलर क्लेरे फिनाससंग भेट गरी गैरआवासीय नेपाली संघका स्थापना र उदेश्यहरुवारे अवगत गराउँदै महाभूकम्प ताका संघले पूराएको प्राथमिक राहत तथा संचालन गरेका स्वस्थ शिविरहरु वारे जानकारी गराउनु भयो र आगामी दिनमा संघले पीडितका लागि निर्माण गर्न लागेको १००० आवास गृहहरु बारे समेत अवगत गराउनु भयो ।

 

 

उहाँले आफू भर्खरैमात्र निदरल्याण्डस्वाट फर्केको र अगष्ट ९ तारिख त्यहाँ बसोवास गरिरहेका गैरआवसीय नेपालीहरुसंग भेट गरेको जानकारी गराउँदै राष्ट्रिय समन्वय परिषद् निदरल्याण्डसले गरेका गतिविधिहरुवारे जानकारी गराउनु भएको थियो । यसै गरी महाभूकम्पबाट भएका क्षेतिहरुका पूनरनिर्माणमा निदरल्याण्डस् सरकारबाट कस्ता आर्थिक तथा प्राविधिक सहयोगहरु प्राप्त गर्न सकिन्छ र नेपालमा बैदेशिक लगानी भित्र्याउन नेपाल स्थित निदरल्याण्डसका काउन्सुलर र गैरआवासीय नेपाली संघले कस्ता भूमिकाहरु  खेल्न सक्छन् भन्नेवारेमा दुई बीच छलफल भएको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति: २ भाद्र, २०७२ ।