News

  • Home
  • News
  • गैरआवासीय नेपाली दिवस

गैरआवासीय नेपाली दिवस



पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरु भएको दिन पारेर अक्टुबर ११ का दिनमा मनाइँदै आएको गैर आवासीय नेपाली दिवस भोली (११ अक्टुबर २०१८) मा विभिन्न कार्यक्रम मनाइँदैछ । यसै दिनलाई सन्दर्भ पारेर संघको सचिवालय आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनर्निर्माण योजनाको हस्तान्तरण, पर्यटन प्रवर्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनु पर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदान गर्ने लगायतका कार्यक्रमहरु आयोजना हुन गइरहेका छन् ।

दिवसका अवसरमा बिहान पशुपतिनाथ र स्वयम्भूमा पूजा आराधना गर्ने, बिहान ११ बजे पत्रकार महासंघस्थित स्थापना गरिएको पुस्तकालयको शुभारम्भ गरिँदैछ । यस्तै दिउँसो २ बज माइतीघर मण्डलामा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भएअनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२– १४ तारिखमा विज्ञ सम्मेलन आयोजना गर्ने गरी कार्यक्रम तय भएको छ । कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायतका धेरै बिषयमा यस सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत विविध क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलनमा ४ सय बढी प्रतिनिधीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यस्तै, गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने कुराको आवश्यकता गत वर्षको विश्व सम्मेलनमा महशुस भएको र सोही अनुसार १२ अक्टोवर २०१८ का दिन विधानसभा आयोजना गरिँदै छ । उक्त विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिनुहुनेछ ।

गैरआवासीय नेपाली संघ ।