News

  • Home
  • News
  • गैरआवासीय नेपाली दिवस २०२२ का निष्कर्षहरु

गैरआवासीय नेपाली दिवस २०२२ का निष्कर्षहरु



गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा यही १० अक्टोबरदेखि १२ अक्टोबरसम्म “Building The Trust ” नाराका साथ सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा समापन गरियो । कार्यक्रममा माननीय गृहमन्त्री बालकृष्ण खाँड लगायत विभिन्न रााजनीतिक दलका प्रतिनिधिहरु विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत ५० भन्दा बढी देशका प्रतिनिधिहरुको (भौतिक र भर्चुअल माध्यमबाट) सहभागी रह्यो ।

गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभामा संघका कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, महासचिवबाट प्रस्तुत सांगठनिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भयो भने विधान संशोधन सुझाव समितिका विधान २०२१ को मस्यौदा उपर छलफल भयो । सम्बन्धित सरोकारका विषयवस्तुउपर विस्तृत छलफल गरी प्राप्त निष्कर्षहरु निम्नानुसार छन् ।

संविधानमा व्यवस्था भएको सात वर्ष भइसक्दा पनि आवश्यक कानून नबन्दा गैरआवासीय नेपालीले नागरिकताको उपभोग गर्न पाएका छैनन् । यसर्थ, सो व्यवस्था उपभोगका लागि आवश्यक कानून बनाई यथाशक्य छिटो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि गैरआवासीय नेपाली संघ, नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला सबैसँग आग्रह गर्दछ ।

स्वदेशमा गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ FITA) तथा त्यस सम्बन्धि नियमावली तथा आदेशमा तत्काल संशोधन गर्नुपर्ने संघको ठहर छ । साथै, धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी धितोपत्रको दोस्रो चरणमा गैरआवासीय नेपालीहरूलाई खुला गर्न कानुनी व्यवस्था मिलाउन संघ नेपाल सरकार तथा सरोकारवाला निकायसमक्ष अनुरोध गर्दछ ।

गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चनलाई संशोधन गर्नु आवश्यक ठानिएको छ । यसर्थ, लगानी भित्र्याउनुका साथै, स्वदेशमै रोजगारी सिर्जना, उद्यमशिलता तथा पूर्वाधार विकास र नेपालीहरूको जीवनस्तर उकास्न सहयोग हुने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरुको लगानी प्रोत्साहित गर्न संघ प्रतिबद्ध छ ।

विदेशमा बस्ने नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माण गर्नुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली कुटनीतिक नियोगहरुमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचय पत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोग लगायत सम्बद्ध निकायहरुलाई संघ हार्दिक आग्रह गर्दछ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान गर्दै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुका साथै थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौदेखि बसोबास गरी आएका नेपालीहरुलाई सहज रुपमा नेपालसँग जोड्न अधिकारसहितको परिचय पत्रका साथै नेपालमा अध्ययन भिसाको व्यवस्था गर्न अनुरोध गर्दछ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघबीच भएको सम्झौताअनुसार तत्काल आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोषको तत्काल कार्यान्वयनका लागि संघ आग्रह गर्दछ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेश पठाउने, गन्तव्य मुलुकको परिवेशअनुसार सचेतानात्मक सूचना प्रवाह गर्ने तथा श्रम सम्झौता भएको मुलुकसँग नविकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न संघ अनुरोध गर्दछ । साथै, वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप र प्रविधि नेपालको व्यवसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुन:एकीकरण कार्यक्रम नेपाल सरकारको सहकार्यमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

गैरआवासीय नेपाली एवं विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले विदेशबाट पठाएको रेमिटयान्सलाई उपभोगमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सामुहिक लगानीको योजनामार्फत राष्ट्र विकासको ठोस योजना यथाशक्य छिटो ल्याउन नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

गैरआवासीय नेपाली संघको अभियानमार्फत महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गर्नुका साथै, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपाल र नेपाली भाषा, संस्कृति लगायतसँग जोड्ने किसिमका योजना निर्माृण तथा कार्यान्वयनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका देशहरु पोर्चुगल, क्रोएशिया रोमानिया, माल्टा, इराक( कुर्दिस्तान) टर्की लगायत दक्षिण अमेरिकी तथा अफ्रिकी देशहरुमा रहेका गैरआवासीय नेपाली तथा नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तव्य मुलुकमा दूतावास तथा कन्सुलर सेवा स्थापना गराउन नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

अन्त्यमा, विश्वभर रहेका समस्त गैरआवासीय नेपालीहरुबीच आपसी विश्वास, समझदारी एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गर्दै गैरआवासीय नेपाली दिवसलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताज्यूहरु, प्रायोजकहरु, संघका अभियन्ता तथा अग्रजज्यूहरु, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरु प्रति संघ हार्दिक आभार प्रकट गर्दछ ।

१२ अक्टोबर २०२२

काठमाडौं नेपाल ।