News

  • Home
  • News
  • गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण

गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण



काठमाण्डौ । गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीहरुले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो । १६ कोठा, दुई भान्छा कोठा र दुई शौचालययुक्त सो भवन निर्माणका लागि ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरिएको छ । नवमिर्तित भवनको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष श्री शेष घले र नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

 

यसैगरी गलेश्वर मन्दिर परिषरमा निर्मित बहुउद्देश्यीय सत्संग भवनको पनि शुक्रबार नै एनआरएन अध्यक्ष घलेले उद्घाटन गर्नुभयो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले यस्तो पवित्र कार्यमा सहयोग गर्ने सवै बेलायतबासी गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघ युके र तत्कालिन अध्यक्ष योगेन क्षेत्रीलाई बिशेष धन्यबाद र आभार ब्यक्त गर्नुभयो । ‘यो नै गैरआवासीय नेपालीले सामूहिक प्रयत्नबाट नेपालमा निर्माण गरेको पहिलो ठूलो परोपकारी काम हो ।’ अध्यक्ष घलेले भन्नुभयो- हाम्रो सानो-सानो प्रयत्नले पनि नेपालमा ठूलो सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो, यसबाट मलाई ब्यक्तिगतरुपमा र गैरआवासीय नेपाली संघलाई ठूलो उत्साह मिलेको छ ।’ पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीका कारण नेपालमा सामाजिक सम्बन्ध र संरचनाहरु खल्बलिएको बताउँदै त्यसलाई रोक्ने र नेपालमै सवैलाई समान अबसर प्रदान गर्ने नीति बनाउन नेपालका नीति निर्माताहरुलाई आग्रह गर्नुभयो । गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गरिरहेको भन्दै उहाँले नेपालको सम्बृद्धिका लागि सामूहिक प्रयत्न गर्न र नेपाल सरकारसँग सहकार्य गर्न संसारभरका गैरआवासीय नेपालीहरु तयार रहेको बताउनुभयो । सो अबसरमा उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले गैरआवासीय नेपालीहरुको परोपकारी मन र सदभावको प्रसंसा गर्दै गाउँमा सुबिधासम्पन्न बृद्धाश्रम बनाउन पहल गर्ने सवै एनआरएनहरुलाई सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो । नेपालमा संबिधान नबनेसम्म दिगो शान्ति र स्थायित्व नहुने भन्दै उहाँले लोकतान्त्रिक संबिधानमार्फत् नेपालमा स्थायित्व कायम गर्न कोसिस भइरहेको बताउनुभयो । कार्यक्रममा म्याग्दीका जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासद, बेलायतबासी गैरआवासीय नेपाली प्रतिनिधिहरु लगायतको उपस्थीति थियो ।