News

  • Home
  • News
  • खुला विश्वबिद्यालयबारे संसदीय समिति सभापति र एनआरएनए अध्यक्षवीच छलफल

खुला विश्वबिद्यालयबारे संसदीय समिति सभापति र एनआरएनए अध्यक्षवीच छलफल



काठमाण्डौं । मिति २०७३ जेष्ठ ३२ गते गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र व्यवस्थापिका संसद महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति माननीय रञ्जुकुमारी झा बीच खुला विश्वविद्यालयको विधयेक सम्बन्धमा अन्तरक्रिया तथा छलफल भयो । उक्त अन्तरक्रियामा सभापति रञ्जुकुमारी झाले आफ्नो तथा आफ्ना समितिका माननीय सदस्यज्यूहरुले बिगतमा सार्वजनिक रुपमा गरेका प्रतिवद्धता अनुरुप तथा गैरआवासीय नेपाली संघका तर्फबाट प्राप्त सुझावहरु समेतलाई समायोजन गर्दै आफ्नो समितिले खुला विश्वविद्यालयको विधयेकको अन्तिम रुपलाई पारित गरिसकेको र असार १, २०७३ का दिन व्यवस्थापिका संसदमा पेश हुन गइरहेको अवगत गराउनु भयो । त्यसै क्रममा उहाँले संघले यस खुला विश्वविद्यालयको अभियानमा अविछिञ्न रुपमा पुराउँदै आएको योगदान र विज्ञ सूचनाहरुको संप्रेषणका लागि आयोजना गरेका कार्यक्रमहरुको प्रसंसा गर्नुभयो । खुला विश्वविद्यालय नेपाल राज्यको एक स्वायत्त सार्वजनिक संस्था भएता पनि गैरआवासीय नेपाली संघहरुको सहकार्यलाई महत्वपूर्ण स्थान दिएको भन्दै उहाँले बिश्वबिद्यालयको प्राज्ञिक उत्कृष्टता तथा अन्तर्राष्ट्रिय सहकार्य तथा स्तरियता प्रदान गर्न संघको ठोस भौतिक तथा प्राज्ञिक सहकार्यको अपेक्षा गरिएको वताउनु भयो ।

 

सभापति झाले खुला विश्वविद्यालय स्थापनाको लागि गैरआवासीय नेपालीसंघले निरन्तर खेलेको उत्प्रेरकको भूमिकालाई एक ठोस नतिजामा पुराउन नेतृत्वदायी भूमिका निभाउनु भएकोमा संघका अध्यक्ष घलेलाई वधाई दिंदै यस कार्यमा अहोरात्र लगनशिलताका साथ लाग्नु हुने गैरआवासीय नेपाली संघका खुलाविश्वविद्यालय कार्यदलका संयोजक डा. प्रमोद ढकाललाई धन्यवाद दिनु भयो । यस अवसरमा संघका अध्यक्ष शेष घलेले यस समितिका अध्यक्ष तथा सम्पूर्ण सदस्यहरुले खुला विश्वविद्यालय विधयेक ल्याउन गरेको प्रयास तथा संघका सुझावहरुलाई बिधयेक भित्र समायोजन गर्न गरेको योगदानको प्रशंसा गर्नु भयो । यस विश्वविद्यालयलाई प्रभावकारी तथा नतिजामूलक संस्थाको रुपमा बिकास गर्न गैरआवासीय नेपालीहरु तत्पर रहेको वताउनु भयो । नेपालको दुरगामी हितलाई ध्यानमा राखेर गैरआवासीय नेपाली संघले खुला विश्वविद्यालयमार्फत योगदान गर्ने वताउनु भयो । छलफलमा गैरआवासीय नेपाली संघका खुला विश्वविद्यालय कार्यदलका संयोजक डा. प्रमोद ढकाल तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय

काठमाण्डौं ।