News

  • Home
  • News
  • कृषि मन्त्रालय र गैरआवासीय नेपाली संघले संयुक्त अध्ययन कार्यदल गठन गर्ने

कृषि मन्त्रालय र गैरआवासीय नेपाली संघले संयुक्त अध्ययन कार्यदल गठन गर्ने



गैरआवासीय नेपाली संघ कृषि प्रवर्द्धन समितिले कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री माननीय चक्रपाणी खनालज्यू संग भेटघाट गरि प्रारम्भिक अवधारणा पत्र प्रस्तुत गरेको छ | भेटघाटमा संघका उपाध्यक्ष कुमार पन्त, समिति संयोजक युवराज गुरुङ, सामाजिक उद्धमशिलता समितिका संयोजक लोकराज शर्मा, त्रिभुवन विश्वविद्यालय कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा.केशवराज अधिकारी, समितिका युरोप संयोजक मोहन मिश्र, एन.आर.एन.ए. एकेडेमीका संयोजक डा.प्रमोद ढकाल, संघका काठमाडौँ स्थित सचिवालय प्रमुख डा.हेमन्त कुमार दवाडी  तथा समिति सचिव श्रीराम घिमिरेको उपस्थिति थियो | गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप र लगानी नेपालको कृषि क्षेत्रमा लगानी गर्ने बारेमा भेटघाटमा छलफल भएको थियो | संघका तर्फबाट उपाध्यक्ष कुमार पन्तले संघका तर्फबाट माननीय मन्त्रीज्यू समक्ष सहकार्यका लागि प्रस्तावपत्र पेश गर्दै  गैरआवासीय नेपालीहरुले जलविद्युत, वैंकिंग लगायत क्षेत्रमा गरेको लगानी एउटा उचाइमा पुगेको सन्दर्भमा अबको लगानी नेपालको कृषि उत्पादन वृद्धिमा हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो |

 

 

संघले विदेशमा विभिन्न क्षेत्रमा सिकेको ज्ञान, सिप, प्रविधि र कौशल नेपालको हितमा उपयोग गर्ने सम्बन्धमा गैरआवासीय नेपाली र नेपाल प्रति चासो राख्ने विदेशी विज्ञ सम्मिलित सम्मेलन आगामी अक्टोबर १२ देखि १४मा काठमाडौँमा आयोजना गर्न लागेको विषयमा जानकारी गराउंदै उपाध्यक्ष पन्तले सम्मेलनको केन्द्रमा कृषि विषयको वहस हुने जानकारी प्रस्तुत गर्नुभयो |  भूमि व्यवस्थापन, पुंजी लगानी, विदेशबाट प्रविधि आयात एवं हस्तान्तरण तथा कृषि क्षेत्रमा गैरआवासीय नेपालीको संलग्नतालाई सुरक्षित गर्ने विषयहरुमा छलफल केन्द्रित भएको थियो | भेटघाटका क्रममा नेपालमा गैरआवासीय नेपालीहरुले कृषि क्षेत्रमा लगानी गर्दाको विद्यामान अवस्था, चुनौती, अवसर तथा नीतिगत समस्याहरु पहिचान गर्न मन्त्रालय एवं गैरआवासीय नेपाली संघका प्रतिनिधि सम्मिलित एक अध्ययन कार्यदल गठन गर्ने विषयमा छलफल भएको छ |