News

  • Home
  • News
  • एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने



काठमाण्डौ । गैरआवासीय नेपाली संघको सातौं बिश्व सम्मेलन सम्माननीय राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने भएको छ । अक्टोवर १६ तारिकमा सुरु हुने सम्मेलनको उद्घाटनका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गर्नुभएको आमन्त्रण राष्ट्रपति डा. यादवले सहर्ष स्वीकार गर्नुभएको छ । भेटका अबसरमा अध्यक्ष घलेले देशमा आई परेका विभिन्न समस्याहरुका वावजुत पनि संघले विश्व सम्मेलन तोकिएकै मितिमा अयोजना गर्न लागेको जानकारी गराउँदै यसले विश्व समुदायमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश पुराउन थप मद्दत पुराउने वताउनु भयो । उहाँले हरेक दुई बर्षमा आयोजना गरिने विश्व सम्मलनको यस बर्षको मूल बिषय पुनर्निर्माणमा केन्द्रित भएको र “गैरआवसीय नेपाली संघ: पुनर्निमाणको सच्चा साझेदार” नारा चयन गरिएको अवगत गराउनु भयो ।

 

नेपालमा सविधान जारी भई सकेको अवस्थामा बिकास निर्माणका कार्यहरुमा गैरआवासीय नेपालीहरुले हातेमालो गर्ने र त्यसको सुरुवात भूकम्पबाट घरवहार बिहिन भएकाहरुका लागि १००० व्यक्तिगत घरहरु निर्माण गर्नेुका साथै समुदायका लागि विद्यालय तथा स्वास्थ्य चौकिहरु निर्माण गरी उद्यमशिताको बिकास गर्नेतर्फ पनि ध्यान दिइने जानकारी दिनुभयो । सम्माननीय राष्ट्रपतिले विगत दुई दशक देखिनै राष्ट्रले विविध समस्याहरुको सामना गर्दै आएको र महाभूकम्पले थप शिथिल पारेको अवस्थामा भर्खरै संविधान जारी भएको बताउनुभयो । नेपालमा जलस्रोत, पर्यटन, कृषि, खनिज आदीको प्रयाप्त सम्भावनाहरु भएता पनि यसको खासै राष्ट्रले उपयोग गर्न नसकेको र विदेशीने यूवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको प्रति आफू निकै चिन्तित रहेको वताउँदै यस बिषय प्रति नेपाल सरकारको वारम्वार ध्यानाकष्र्ण गराइरहेको जानकारी दिनुभयो । विश्वको परिभेष देखेवुझेका र मात्रिभूमिलाई माया गर्ने सम्पूर्ण गैरआवासीय नेपालीहरु प्रति नेपाल र आफूले निकै आशा राखेको र गैरआवासीय नेपाली संघले महाभूकम्पको समयमा खेलेको भूमिका र देखाएको अग्रसरताले सारा नेपालीहरुको गैरआवासीय नेपाली र त्यसलाई एकिकृत गर्ने गैरआवासीय नेपाली संघ प्रति थप आशा र भरोसा बढेको वताउनु भयो । उहाँले आफ्नो सात बर्षको कार्यकालमा दुई पटक गैरआवासीय नेपालीे संघले आयोजना गरेको गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहभागी हुन पाएको र आगामी विश्व सम्मेलनमा पनि राष्ट्र प्रमुखको उपस्थिति हुने जानकारी दिनुभयो । सम्माननीय राष्ट्रपतिलाई विश्व सम्मेलनमा आमन्त्रण गर्न संघका अध्यक्षको नेतृत्वमा महासचिव कुमार पन्त, सचिव रञ्जु वाग्ले थापा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ, सचिवालय काठमाण्डौं ।

मिति: १८ असोज, २०७२ ।