News

  • Home
  • News
  • एनआरएन दोश्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न

एनआरएन दोश्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न



 

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक न्यूजिल्याण्डमा सम्पन्न भएको छ । शनिबार स्थानीय क्राईष्टचर्च शहरको लिंकन ईभेन्ट सेन्टरमा भएको बैठकले विभिन्न १० बुंदे प्रतिबद्धतापत्र समेत पारित गरेको छ । “एनआरएनए– सम्बृद्ध नेपालका लागि साझेदार” भन्ने नारासहित सञ्चालित बैठकमा एनआरएनका अभियन्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । यसरी भएका प्रस्तुतिबाट प्राप्त सुझावलाई समेट्दै बैठक सकिएको हो । बैठकले गैरआवासीय नेपाली संघको संरचनात्मक रुपान्तरण गर्नुपर्ने निष्कर्श पनि निकालेको छ । जसका लागि नयां सोच, लक्ष्य र रणनीति अख्तियार गर्ने प्रस्तावलाई सर्वसम्मतले अमेरिकामा हुने नवौं क्षेत्रीय सम्मेलनमा लैजाने निर्णय पनि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि शेष घलेले एनआरएनलाई नयां उचाईमा लैजानका लागि यसको संरचनात्मक सुधार गर्नुपर्ने बताउनुभएको थियो । घलेले आगामी अगष्ट महिनाबाट नेपालमा एनआरएनले घर निर्माणको कामलाई अघि बढाउने बताउनुभयो । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, संरक्षक ईन्द्रा वन, एनआरएनए न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए आईसीसी सदस्यहरुको तर्फबाट केशव सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा एनआरएनका आगामी कार्ययोजना र प्रवासमा महिला पत्रकारिताको विषयमा प्रवक्ता रञ्जु वाग्लेले आफ्नो प्रस्तुति दिनुभएको थियो । यसैगरी दिगो एनआरएनका लागि नीति विषयक प्रस्तुति नारायण काफ्लेको थियो भने शिप, ज्ञान र प्रविधि हस्तान्तरणका लागि क्षेत्रीय सहकार्यका विषयमा राजन कोइराला, नेपालमा भूकम्प र यसपछि पुननिर्माणमा एनआरएनको योगदान विषयमा प्रोफेसर राजेश ढकाल, नेपालको भूकम्प र पुननिर्माणका विषयमा जितेन्द्र बोथराले पनि आफ्नो प्रस्तुती दिनुभएको थियो । बैठकका भिन्दाभिन्दै सेसनको अध्यक्षता क्रमश: इन्द्रा वन, महेन्द्र लम्सालले गर्नुभएको थियो भने स्वागत एनआरएनए न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जन र धन्यवाद उपाध्यक्ष अभिषेकराज वाइवाले दिनुभएको थियो । बैठकमा सहभागी हुनका लागि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, आईसीसी सदस्यहरु धर्मराज अधिकारी, ईश्वर कुईकेल, प्रकाश जिसी, लोकराज पौडेल पनि पुग्नुभएको थियो ।

बैठकले गरेका निर्णयहरुलाई एनआरएन आईसीसी प्रवक्ता रञ्जु थापाले पढेर सुनाउनुभएको थियो । बैठकका निर्णयहरु यस्ता छन् :

१.     गैरआवासीय नेपाली संघको संरचनात्मक रुपान्तरण तथा पुनसंरचनाको पहल (New  Vision, New Goals and New Strategies) आगामी नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरिने प्रस्तावलाई यस सम्मेलनले सर्वसम्मतले अनुमोदन गरेको छ ।

२.     गैरआवासीय नेपाली संघलाई विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाका रुपमा अझ प्रभावकारी बनाई अघि बढाउन बृहद सामूदायिक संघ संस्थाको सहभागितालाई उच्च प्राथमिकता दिंदै सहकार्य र समन्वयलाई तिव्रता दिने निर्णय गरियो ।

३.     नेपालमा गएको २०७२ को विनाशकारी भूकम्प पश्चात एनआरएनएले सञ्चालन गरेको पुननिर्माण अभियानमा ओसेनिया क्षेत्रबाट थप आर्थिक सहयोगका साथै यहाँ रहेका नेपालीहरुले हासिल गरेको ज्ञान, शिप र प्रविधिलाई पुननिर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

४.     ओसेनिया क्षेत्रमा रहेका नेपाली महिलाहरुको सशक्तीकरणका लागि थप प्रतिबद्धता व्यक्त गर्दै सूचनामूलक तथा सहभागितामूलक कार्यक्रम ल्याउने निर्णय गरियो ।

५.     आगामी एक वर्षभित्र यस क्षेत्रमा पर्ने फिजीमा नयां राष्ट्रिय समन्वय परिषद् गठन गर्नका लागि एनआरएनए पपुवा न्यूगिनीका अध्यक्ष राजबहादुर शाहीको संयोजकत्वमा आईसीसी सदस्य ईश्वर कुईकेल, एनआरएनए न्यूजिल्याण्डका सल्लाहकार चक्रबहादुर थापासहितको तीन सदस्यीय कमिटी निर्माण गरियो ।

६.     ओसेनिया क्षेत्रमा पञ्जिकृत सदस्यहरुको संख्या बृद्धिका लागि विशेष अभियान चलाउने निर्णय गरियो ।

७.     राष्ट्रिय समन्वय परिषद् तथा यसमार्फत सहयोग जुटाउने अन्य संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयोगको कदर र पहिचान झल्किने गरी पुननिर्माण कार्यमा समावेश गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्ने निर्णय गरियो ।

८.     गैरआवासीय नेपाली संघको नीति तथा आचारसंहितालाई परिस्कृत गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गर्ने निर्णय गरियो ।

९.     ओसेनिया क्षेत्रमा रहेका विज्ञहरुको तथ्यांक संकलन गरी ज्ञान, शिप र क्षमता सम्बृद्ध नेपाल निर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

१०.    नेपालमा भूकम्प प्रभावित क्षेत्रका महिलाहरुको स्वावलम्बन र स्वरोजगारीका लागि एनआरएनए ओसेनिया क्षेत्रका महिला फोरमले सहयोगलाई अभिबृद्धि गर्ने निर्णय गरियो ।

रञ्जु (वाग्ले) थापा,

प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ ।

मिति : २९ मई २०१६