News

  • Home
  • News
  • एनआरएनको सुझाव– बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउँ

एनआरएनको सुझाव– बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउँ



काठमाण्डौ । गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ । बैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च नभइ दैनिक उपभोगमा सिमिति रहेको भन्दै संघले सञ्चय कोष स्थापना गरी उनीहरुको सानो–सानो बचतलाई एकीकृतरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएको छ । कर्मचारी सञ्चय कोष र गैरआवासीय नेपाली संघवीच बुधबार ललितपुरमा भएको छलफलमा संघका अध्यक्ष शेष घलेले बैग्लै कोष स्थापना प्रभावकारी हुने बताउनुभयो । ‘कर्मचारी सञ्चय कोषले लामो समयदेखि आफ्नो बिश्वसनीयतालाई सावित गर्दै आएको छ, कोषले नै बैदेशिक रोजगारीका लागि बेग्लै कोष संचालन गर्न सके ठूलो लगानी भित्रिने सम्भावना छ’ अध्यक्ष घलेले भन्नुभयो– तर, साविकका कर्मचारी बचतकर्ताकै कोषमा मिसाउनु राम्रो हुँदैन, किनकी दुईथरी बचतकर्ताको रुची र उदेश्य फरक फरक हुन्छ ।’

 

बैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्स बचत गर्ने कार्यक्रम ल्याउने रुची देखाएकोमा कोषलाई धन्यबाद दिदै अध्यक्ष घलेले त्यसको प्रभावकारी कार्यन्वयनका लागि एनआरएनएले हातेमालो गर्ने बताउनुभयो । त्यसका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरुलाई परिचालन गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो । यसका लागि अब बन्ने ऐन तथा नियमावलीमा स्पष्ट प्राबधानको ब्यबस्था हुनुपर्ने अध्यक्ष घलेको सुझाव थियो । सो अबसरमा कोषका मुख्य प्रशासक कृष्ण आचार्यले कोषको हालको अबस्था र सामर्थ्य बारे जानकारी दिदै बैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्सलाई प्रतिफलयुक्त लगानीमा रुपान्तर गर्न कोष अग्रसर रहेको बताउनुभयो । हाल साढे ५ लाख कर्मचारी बचतकर्ताको २ सय २५ अर्ब रुपैयाँ कोषमा रहेको जानकारी दिंदै उहाँले त्यसको ६० प्रतिशत रकम बचतकर्तालाई ऋण तथा सापटी दिएको जानकारी दिनुभयो । बचत रकमबाट कोषले चार वटा जलविद्युत परियोजनामा लागानी गरेको वताउँदै उहाँले वचत कर्ताहरुलाई घर बनाउनको लागि ऋण सुविधा, बाल शिक्षा, घर मर्मत ऋण, र परिवारलाई कुनै व्यवसाय गर्नको लागि धितो राखेर ऋण दिने सुविधा रहेको पनि जानकारी गराउनु भयो ।

 

 

लाखौं नेपालीहरु बैदेशिक रोजगारीमा रहेको र त्यहाँ आर्जित रकम हाल उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने प्रवल सम्भावना रहेको भन्दै आचार्यले कोषले त्यसको तयारी गरिरहेको जानकारी दिनुभयो । संघसंग सहकार्य गरेर कोष निर्माण र त्यसलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्ने कोषको चाहना रहेको भन्दै उहाँले त्यसका लागि तत्कालै दुवै संस्थावीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । कोषका अन्य उच्च अधिकारीसमेत सम्मिलित सो छलफलमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बचत संकलन र लगानीका प्रकृया तथा कार्यबिधिबारे बिस्तृतमा छलफल भएको थियो । संघ र कोषवीच हुन लागेको समझदारी र त्यसमा समावेश गरिने बुँदाका बिषयमा समेत बिस्तृत छलफल भएको थियो । छलफलमा संघका तर्फबाट अध्यक्ष घले, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, युवा उपसंयोजक लोकराज शर्मा, सल्लाहकारहरु गणेश गुरुङ्ग र नवराज गुरुङ, एनसीसी बहराईनका पूर्व अध्यक्ष श्याम तामाङ, एनसिसि मलेशियाका महासचिव सुन्दर आले र सचिव सुभद्रा लिङदेन र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो । अन्त्यमा, प्रस्तावित सम्झौतापत्रका प्राविधिक तथा कानूनी पक्षहरुको बिशलेषण गरी छिट्टै सम्झौतापत्रमा हस्ताक्षर गर्ने सहमति भयो ।

रञ्जु थापा

प्रवक्ता

अन्तर्राष्ट्रिय समन्वय परिषद्,

गैरआवासीय नेपाली संघ ।

मिति : २०७३ असार ८ तद् अनुसार २२ जुन २०१६ बुधवार ।