News

  • Home
  • News
  • एनआरएनए युरोप क्षेत्रीय बैठक सुरु

एनआरएनए युरोप क्षेत्रीय बैठक सुरु



गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी”  भन्ने मुल नाराका साथ लक्जेम्बर्ग स्थित डबल ट्रि वाई हिल्टन होटलमा भईरहेको बैठकको उद्घाटन नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउड मेइश, संघका अध्यक्ष भवन भट्ट र युरोप क्षेत्रीय संयोजक शिव वरुवालले संयुक्त रुपमा गर्नु भयो ।
उद्घाटन समारोहमा बोल्नु हुँदै  कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैरआवासीय नोपली नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले नेपालको आर्थिक क्षेत्रमा गैरआवासीय नेपालीहरुले योगदान गरिरहेको बताउनु भयो । गैरआवासीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने जनाउनु भएको हो । निकै लामो छलफल पश्चात गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था संविधानमा गरिएको र यो कार्यान्वयन हुनेमा शंका नगर्न आह्वान गर्नु भएको छ । ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुस,’ उहाले भन्नु भयो, ‘कोहि जिम्मेवार व्यक्तिले कटौती गर्ने भन्नु भएको रहेछ भने पनि म क्षमा चाहान्छु ।’
उहाँले नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गर्नुभयो । ‘अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास नै हो । आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्नेबारे राष्ट्रिय अबिभारा केन्द्रित छ,’ उहाले भन्नु भयो । नेपाल आगामी तीन वर्षमा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नत हुने र सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु पुरा गरि मध्यम आय भएको मुलुकमा पुग्नका लागि एनआरएनले थप सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ । ‘सरकारले तपाईहरुसंग साझेदार बनेर अघि बढ्ने छ,’ उहाले भन्नु भयो । नेपाल सरकारले अहिले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायको सुनिश्चितता, अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने गरि अघि बढेको जनाउनु भएको छ । यस बेला गैरआवासीय नेपालीहरुको सहयोग चाहिएको परराष्ट्रमन्त्री ज्ञावलीले बताउनु भएको छ । ‘समृद्धि यात्राको साझेदारी हुनुहोस,’ उहाले भन्नु भयो ।
यसै गरी जम्मा भएका गैरआवासीय नेपाली प्रतिनिधहरुलाई संबोधन गर्नु हुँदै आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउड मेइशले लक्जेम्बर्गमा तीन सय नेपालीहरुको बसोबास रहेको जानकारी दिनु भयो । उहाँले नेपालीहरुले लग्जेम्वर्गको जीवनको विविध पक्षमा नेपाली मूलका व्यक्तिहरुले योगदान दिईरहेको बताउनु भयो । उहाँका अनुसार यस्तो सम्मेलन बाट लग्जेम्वर्ग र नेपाल वीचको सम्बन्ध अझ प्रगाढ हुनेमा आफ्नो धारणा राख्नु भयो ।
कार्यक्रममा उपस्थीत हुन नसक्नु भएका एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले शुभकामना सन्देश मार्फत नेपालमा ठूलो परिवर्तन र सक्रमण पार गरेर अघि बढेको बताउनु भयो । ‘अस्थिर सरकारको अवस्था अब छैन । नेपालको क्षेत्रमा काम गर्न स्पष्ट नीति, कार्यक्रम र योजना खाका कोर्नुहुने छ,’ उहाले बैठक माथी विश्वास गर्दे सन्देशमार्फत भन्नु भयो ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको उल्लेख गर्नुभएको छ । संविधानले हाललाई उक्त व्यवस्था गरेको छैन । संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्न कानुन बनाउन प्रतिवद्ध रहेको उहाको धारणा थियो । ‘संविधानले दिएको अधिकार अनुसारको कानुन बनाउन म सहयोग गर्ने छु,’ उहाले भन्नु भयो । उहाँका अनुसार नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको छ । ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ,’ उहाले भन्नु भयो, ‘हामीले खोजेको उड्ने गतिको समृद्धि हो ।’
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गर्नु भयो । ‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिनु भएको छ । तर पनि हामी संविधानको मर्मलाई सम्बोधन गर्ने गरी कानुन बन्नेछ भन्नेमा विश्वस्त छौ,’ उहाले भन्नु भयो । नेपालले विभिन्न मुलुकहरुसंग दोहोरो कर मुक्ति सम्झौता गर्न सुझाब सरकारलाई उहाले दिनु भएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिलाई गैरआवासीय नेपालीले सघाउ पुर्याउने बताउनु भयो । ‘७० लाख नेपालीको ७८ मुलुकमा एउटै सोचका साथ यो संस्था स्थापना भएको छ । नेपालको समृद्धि नै यो संस्थाको सफलता हो,’ उहाले भन्नु भयो । उहाँले गैरआवासीय नेपालीहरुले नेपाल एवं आफू बसेको मुलुक दुवैका हितका लागि काम गर्नु पर्ने धारणा राख्नु भयो ।
वेनलक्स मुलुकहरुका लागि नेपाली राजदुत लोक बहारदुर थापाले गैरआवासीय नेपालीलाई आफ्नो व्यापार प्रबर्धनका रुपमा लिनुपर्ने धारणा राख्नु भएको छ । ‘नेपालीको हक हित रक्षा गर्न होस वा नेपालको विकास गर्ने चाहना उहाहरुले देखाइ रहनु भएको छ । यो प्रशंसा गर्न लायक विषय हो,’ उहाले भन्नु भयो ।
पूर्व मन्त्री हिसिला यमीले कार्यक्रममा राष्ट्रियता भौतिक प्रगतीले मात्रै नपुग्ने बताउनु हुदै आर्थिक आधार चाहिने धारणा राख्नु भएको छ । ‘त्यसका लागि अब नेपालमा काम गरेर देखाउने वेला आएको छ,’ उहाले भन्नु भयो ।
सांसद रामकुमारी झार्कीले गैरआवासीय नेपालीलाई नागरिकता संविधानमै स्पष्ट पारेकाले कानुन बनाएर लागु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ‘कानुन बनाएर लागु गर्न बाँकी छ । असोजको ३ गतेभित्र एक सय वटा कानुन बनाउनु पर्ने छ,’ झार्कीले भन्नु भयो, ‘मौलिक हक र नागरीकतासंग सम्बन्धीत कानुन बनाउन गैरआवासीय नेपालीहरुले सहयोग गर्नुपर्छ ।’
अर्का सांसद सुर्य पाठकले कुनैपनि देशको विकासमा गैरआवासीयहरुको योगदान रहेको विश्व बैंक, आइएमएफ लगायत प्रतिवेदनले स्पष्ट पारिसकेको बताउनु भएको छ । ‘नेपालका लागि पनि एनआरएनएको भुमिका महत्वपुर्ण छ । नागरिकताको निरन्तरता एनआरएनको महत्वपुर्ण एजेन्डा हो,’ उहाले भन्नु भयो ।
बैठकको सभापतित्व गर्दै एनआरएनए युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले बैठक सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै बैठकको वृहत विषयमा जानकारी गराउनु भएको थियो  । बैठक सोमवार सम्म चल्ने  छ । बैठकको अन्तिम दिन लग्जेम्वर्ग घोषणापत्र जारी गर्दै सम्पन्न हुने छ ।
गैरआवासीय नेपाली संघ ।