News

  • Home
  • News
  • एनआरएनएद्वारा राहत वितरण प्रतिबेदन गृहमन्त्रीलाई हस्तान्तरण

एनआरएनएद्वारा राहत वितरण प्रतिबेदन गृहमन्त्रीलाई हस्तान्तरण



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमसंग भेट गरी गैरआवासीय नेपाली संघले भूकम्पपिडीतका लागि गरेको पहिलो चरणको राहतबारे जानकारी गराउनुभएको छ । बुधबार १० जुनमा गृह मन्त्रालयमा भएको भेटमा उहाँले गैरआवासीय नेपाली संघले तीन हप्ताको अवधिमा गाउँगाउँ पुगेर करिव १४ हजार परिवारलाई  त्रिपाल, खाद्यान्न र औषधि वितरण गर्नुका साथै २६ स्थानामा स्वास्थ्य शिविर समेत संचालन गरिएको जानकारी दिनुभयो । यसका लागि बिभिन्न देशबाट ३ सय भन्दा बढि स्वयंसेवी नेपाल आएर सेवा गरेको उहाँले जानकारी दिनु भयो ।सो अबसरमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरेको राहत वितरण सम्बन्धी विस्तृत प्रतिबेदन गृहमन्त्री गौतमलाई हस्तान्तरण गर्नुभयो ।

 

अध्यक्ष घलेले राहत वितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीज्यूहरु र सुरक्षा निकायले गैरआवासीय नेपाली संघसंग गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताउनुभयो । सवै जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी उहाँहरुले सिफारिस गरेको स्थानमा राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणको आपतकालिन राहत वितरण सम्पन्न भएको जानकारी दिंदै उहाँले अब दोस्रो चरणमा पुन:निर्माण र पुन:स्थापना अभियानमा सहभागी हुने योजना रहेको जानकारी दिनुभयो । ३५ करोड रुपैयाँको लागतमा करिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसंगको सहकार्यमै पुन: निर्माण अभियानमा साझेदार बन्न लागेको जानकारी दिनुभयो । यस्ता घरहरु भूकम्प प्रतिरोधी, पर्यावरणमैत्री र स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खालका हुने घलेले जानकारी दिनुभयो ।

 

उपप्रधान तथा गृहमन्त्रीले संघले भूकम्प पीडितको लागि गरेको प्रथम चरणको राहात कार्यक्रमको प्रसंसा गर्दै देशले गैरआवासीय नेपालीहरुको तर्फबाट धेरै सहयोगको आशा राखेको वताउनुभयो । मुलुक अब पुन: निर्माण अभियानमा लागेको हुँदा गैरआवासीय नेपालीहरुबाट सरकारले थप सहयोगको अपेक्षा गरेको गृहमन्त्री गौतमले बताउनुभयो । एक हजार परिवारका लागि आवास निर्माण गर्ने गैरआवासीय नेपाली संघको योजनाको स्वागत गर्दै मन्त्री गौतमले त्यस कार्यमा नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई सम्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

यसअघि अध्यक्ष घलेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतसंग वेग्लावेग्लै भेट गरी पहिलो चरणको राहत वितरण र दोस्रो चरणको पुन:स्थापना अन्र्तगत एक हजार घर निर्माण योजनाबारे जानकारी गराउनुभयो । आवास निर्माणका लागि गैरआवासीय नेपाली संघले तयारी तिब्र पारेको जानकारी दिंदै उहाँले सरकारको पुन:निर्माण खाका कुरिरहेको जानकारी दिनुभयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय,

काठमाण्डौं ।