News

  • Home
  • News
  • अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद्हरु तयारी अवस्थामा

अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद्हरु तयारी अवस्थामा



नेपाल सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक म्यान्मार र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।गैरआवासीय नेपाली संघले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताउनु भयो । संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो । उपप्रधान मन्त्री पोखरेल र परराष्ट्र मन्त्रीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिवद्धता गैरआवासीय नेपाली सँग जनाउनु भएको थियो ।
भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ ।
लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गर्नुभयो। नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । संघले विश्वभर छरिएका नेपाली दुतावाससंग सहकार्य गर्दै नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई गत हप्तानै निर्देशन दिएको थियो ।
पहिलो पटक म्यान्मारबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाई छ ।
अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई धैर्य गरी जहाँ हुनुहुन्छ त्यही रहन र एकअर्कालाई सहयोग पुर्‍याउन समेत आग्रह गर्नुभयो ।
यसअघि संघका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् ।
तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ ।
गैरआवासीय नेपाली संघ