News

  • Home
  • News
  • अध्यक्ष घलेद्वारा माईति नेपाललाई सहयोग रकम हस्तान्तरण

अध्यक्ष घलेद्वारा माईति नेपाललाई सहयोग रकम हस्तान्तरण



गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माईति नेपालका अध्यक्ष अनुधारा कोईरालालाई रु. दश लाख सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो ।

 

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष घलेले समाजसेवाद्वारा विश्व चर्चित तथा सिएनएन हिरोको उपाधि समेत हात पर्न सफल व्यक्तित्वलाई केहि सहयोग गर्न पाउँदा आफू निकै हर्षित हुनुका साथै अनुराधा कोईरालाका काम र सफलताबाट निकै प्रभावित भएको र उहाँको तुलनामा आफूले गरेका कामहरु नगन्य भएको औंलाउनु भयो । अध्यक्ष घलेले माईति नेपालका अध्यक्षको तुलनामा आफूले १० प्रतिशत मात्र काम गरेको र अरु नव्वे प्रतिशत काम गर्न बाँकी रहेको वताउनु भयो । उहाँले ससाना नानीहरुलाई संवोधन गर्दै उच्च मनोवल, नैतिकता, मेहनत र शिक्षा प्रतिको लगावले जीवनमा सफलता हासिल गर्न सकिने वताउँदै, आफूले हाशिल गरेको सफलता भन्दा पनि बढी सफलता प्राप्त गर्न शुभकामना र आशिर्वाद दिनुभयो । जीवनामा जतिपनि सफलता हासिल गरेपनि आफ्नो मात्रिभूमि प्रतिको कर्तव्य र मानवतालाई कहिले पनि भुल्न नहुने प्रति बालबालिकाहरुलाई सचेत गराउनु भयो ।

 

 

उहाँले रंजन वैद्यको नेतृत्वमा रु ६, ३२,२५५।०० सहयोग गरी पठाउने नेपाली कम्यूनिटि सेन्टर, भिक्टोरिया, अष्ट्रेलियाका सहयोगी मित्रहरुलाई धन्यवाद दिंदै एमआईटी फाउण्डेशनका तर्फबाट बाँकी रकम सहयोग गरिएको जानकारी दिनु भयो । यस अवसरमा माईति नेपालका अध्यक्ष अनुराधा कोईरालाले सहयोगमा सहभागी हुने नेपाली कम्यूनिटि सेन्टरका सहयोगी हातहरु तथा एमआईटी फाउण्डेशनलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु भन्दै प्राप्त रकम भूकम्पबाट पीडित भई बेचबिखनमा पर्न सक्ने खतरामा रहेका बालबालिका सहयोगार्थ तथा यस कार्यलाई रोकथाम गर्न यो रकमको उपयोग गर्ने वताउनु भयो । उहाँले माईति नेपालका वालवालिकाहरु पनि राहत कार्यमा संलग्न भएका र भकम्प पीडितहरुका घरदैलोमै पुगि क्षति तथा पीडाको प्रत्यक्ष उनुभूति गरी राहत समेत वितरण गरेको जानकारी दिनु भयो । सो अवसरमा माईति नेपालका बालबालिकाहरुले “जे हुन भई सक्यो, सबै मिलि पूनर्निर्माणमा जुटौं” भन्ने वोलका गीतका साथै नृत्य प्रस्तुत गरेका थिए ।

 

गैरआवासीय नेपाली सचिवालय, काठमाण्डौं ।

मिति: २५ जुन, २०१५ ।