सडकबाट उद्धार गरिएका बालबालिकाको व्यवस्थापन लागि सहयोगार्थ एनआरएनए, राष्ट्रिय बाल परिषद् र यूसेप नेपालबीच सम्झौता

गैरआवासीय नेपाली संघ, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, यूसेप नेपालमा र सानोठिमी, भक्तपुरस्थित न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम नेपाल (यूसेप) का बीच सडकबाट उद्धार गरि नेपाल सरकारले व्यवस्थापन गरिरहेका बालबालिकाको सहयोगका लागि सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गैरआवासीय नेपाली संघको महिला विभागको एक गैरआवासीय नेपालीको प्रतिबद्धता,एक असहाय बालबालिकाको सहारा” परियोजनाका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्र अनुसार गैरआवासीय नेपाली संघले ५० जना बालबालिकालाई एक वर्षसम्म शिक्षा, स्वास्थ्य लगायतमा आवश्यक आर्थिक रकम उपलब्ध गराउनेछ । सम्झौता अनुसार प्रत्येक बालबालिकाले मासिक रुपमा ५ हजार रुपैँयाका दरले एक वर्षसम्म सहयोग रकम प्राप्त गर्नेछन् । उक्त रकम यूसेपले बालबालिकाका लागि खर्च गर्नेछ । गैरआवासीय नेपाली संघले राष्ट्रिय बाल अधिकार परिषद्ले सडकबाट उद्धार गरि आफ्नो निगरानी रहने गरेर बालबालिका व्यवस्थापन गरिरहेको संस्था यूसेपलाई विभिन्न अनुगमन तथा स्थलगत भ्रमण गरेर सहयोगका लागि छनोट गरेको हो । उक्त सम्झौतापत्रमा संघका तर्फबाट कार्यकारी अध्यक्ष डा बद्री केसी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकाल र न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम नेपाल (यूसेप) का निर्देशक केशव सुवालले हस्ताक्षर गर्नुभएको छ ।


उक्त अवसरमा संघकी सचिव एवं यस परियोजनाकी संयोजक टीका गुरुङले नेपाललाई सडक बालबालिका रहित बनाउने परियोजनालाई सरकारको सहकार्यमा अघि बढाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । विभिन्न चरणका छलफल, स्थलगत भ्रमण र सम्बन्धित निकायसँगको अनुगमनपछि सरकारकै रेखदेखमा परियोजना अघि बढाउन पाएको भन्दै उहाँले धन्यवाद प्रकट गर्नुभयो । उक्त अवसरमा संघकी उपाध्यक्ष एवं महिला विभागकी प्रमुख यास्मिन बेगम सैयदले गाँस, बास र कपासबाट वञ्चित र अभिभावकबाट छुटेर सडकमा पुगेका बालबालिकालाई व्यवस्थापन गरि उनीहरुको भविष्यको लागि केही गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
सडकबाट उद्धार गरिएका बालबालिकाको व्यवस्थापन लागि सहयोगार्थ एनआरएनए, राष्ट्रिय बाल परिषद् र यूसेप नेपालबीच सम्झौता
यस्तै, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले सरकारले गैरआवासीय नेपाली संघको सहयोगलाई पारदर्शी रुपमा बालबालिकाको संरक्षण र सुसारका लागि प्रयोग गर्ने र त्यसमा आफूले प्रत्यक्ष अनुगमन र निगरानी राख्ने बताउनुभयो ।
यस्तै, न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम नेपाल (यूसेप)का निर्देशक केशव सुवालले बालबालिकाका लागि प्राप्त सहयोगलाई उनीहरुको लालनपालन तथा स्वास्थ्य, शिक्षामा प्रयोग गरि उनीहरुको उज्वल भविष्यको लागि कटीबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा परिषद्, यूसेप र एनआरएनए सचिवालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।