पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन सम्पन्न

अमेरिकाको अर्बिङ सरकारद्वारा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा
अमेरिकाको अर्बिङ सरकारले नेपाली समूदायको स्वास्थ्यमा चासो राख्दै हेरक वर्ष नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको आयोजानमा गत साता सम्पन्न क्षेत्रीय स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै अर्बिङ शहरका नगर प्रमुखको तर्फबाट ओस्कर वार्डले सम्मेलनमा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गर्नुभएको हो । मे २६ देखि २७ तारिखसम्म चलेको सो सम्मेलनमा प्रत्यक्ष तथा भचुर्अल गरेर ३ तीन सय जना विभिन्न स्वास्थ्यसम्बन्धी विज्ञहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा अमेरिका, क्यानाडा, कोस्टारिका र नेपाल लगायतका देशमा रहेका चिकित्सकहरुले सहभागिता जनाएका थिए । सम्मेलनको पहिलो सत्र मे २७ शुक्रबार गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को स्वास्थ्य विभागका सभापति डा. संजिव सापकोटा, सम्मेलन तयारी समितिका संयोजक डा. प्रकाश श्रेष्ठले सम्मेलनमा पुगेका प्रतिनिधिहरुलाई स्वागत तथा सम्मेलनको बारेमा प्रकाश पार्नुभएको थियो । सो सत्र डा. किरण सापकोटा, डा. संजिव सापकोटा,
डा. प्रकाश श्रेष्ठ लगायतले सञ्चालन गर्नुभएको थियो । सम्मेलनको दोश्रो दिन मे २७ का दिन ५ किलोमिटर रनिङ एण्ड वकिङमा चिकित्सकहरु सहभागी भएका थिए । दोश्रो दिन पहिलो क्षेत्रीय स्वास्थ्य सम्मेलनको समुद्घाटन टेक्सस राज्यकै युलेस शहरबाट नगर परिषद सदस्य टीका पौडेल र संघका महासचिव गौरीराज जोशीले गर्नुभएको थियो । सम्मेलनमा स्वास्थ्य परिचारिका (नर्स पेशा) सम्बन्धी कार्यपत्र डा विभा गौतम, अन्जु खरेल, मानसिक स्वास्थ्य सम्बन्धी रेखा कोइराला, दाँत सम्बन्धी दन्त्य रोग विशेषज्ञ स्मृति राजभण्डारी अमात्य, मधुमेह रोग सम्बन्धमा डा. नील अमात्य, सम्मेलनमा विभिन्न स्वास्थ्य संघ-संस्थालगायतका संस्थाहरुका प्रतिनिधिले आ-आफ्नो भनाई राखेका थिए । सम्मेलनको अन्तिम दिन मे २८ तारिखका अध्यात्म र स्वास्थ्य, मानसिक स्वास्थ्य, वैज्ञानिक कार्यपत्र सत्र, स्वास्थ्य कार्यशाला, क्यान्सरको रोगथामबारे जनचेतना, क्यानडामा रहेका नेपालीहरुलाई स्वास्थ्य चेतनासम्बन्धी गतिविधि भएका थिए । जनस्वास्थ्य, नर्सिङ, चिकित्सा शास्त्रलगायत तीन समूहमा विभाजित स्वास्थ्यकर्मीहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन डा. निशा शर्मा तथा रामहरि रौनियारले गरेका थिए । सम्मेलनको अन्तिम दिन अर्बिङ १७ बुँदे घोषणा जारी गरिएको थियो । घोषणापत्रमा अमेरिका क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीबीच नेटर्वकिङ, नेपालमा जारी स्वास्थ्यसम्बन्धी कार्यक्रममा आर्थिक सहयोग लगायतका विषयहरु समेटिएका छन् ।