गैरआवासीय नेपाली संघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच भेटवार्ता

२७ नोभेम्बर २०१९ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा वीच भेटवार्ता भयो । मुख्यतया तल उल्लेखित निम्न विषयहरुमा छलफल भएको थियो ।
- मुलुकको लागि आवश्यक जनशक्ति विकासमा आपसी सहकार्य गर्ने,
- प्रादेशिक तहमा संयुक्त रूपमा लगानी सम्मेलन गर्न पहल गर्ने,
- महासंघको मुलुक भित्र रहेको संजाल र गैरआवासीय नेपाली संघको विदेशमा रहेको संजालको भरपुर उपयोग गर्दै स्वदेशभित्र बाह्य लगानी, प्रविधि, शीपको आकर्षण मार्फत उद्योग व्यवसायको विकासमा सहकार्य गर्ने ।
संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघले अगाडी बढाएको १० अर्वको म्यूचियल फण्डलाई संघ, नेपाल सरकार र महासंघ समेतको सहकार्यमा अगाडी बढाउनुपर्नेमा जोड दिनु भयो ।
यसरी नै अध्यक्ष पन्तले आगामी सन् २०२० को अक्टोवरमा आयोजना गरिने विश्व ज्ञान सम्मेलन (Global Knowledge Conference) बारे जानकारी गराउनु भएको थियो । अहिलेसम्म गैरआवासीय नेपालीहरूबाट पूँजी आकर्षणका विषयमा मात्र जोड दिइदै आएको तर मुलुकका लागि यतिखेर पूंजीका अलावा विदेशमा बसेका नेपालीहरूले सिकेको ज्ञान र शीप समेत आवश्क भएकाले ज्ञान र शीप आकर्षण गर्ने खालका कार्यक्रम विकास गर्न सबै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्ने बारे बताउनु भयो ।
यसका साथै उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यवस्थित गर्नका लागि संघले गरेका गतिविधिहरुका साथै अन्य सरोकारका विषयमा जानकारी गराउनु भएको थियो ।
यसरी नै उहाँले गैरआवासीय नेपाली संघको अभियानमा महासंघले गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्दै यस सम्बन्धी सहयोग र सहकार्यको निरन्तरता भविष्यमा पनि रहिरहने विश्वास दिलाउनु भयो ।
यसरी नै महासंघका अध्यक्ष भवानी राणाले नेपाल आर्थिक विकास र अन्य सरोकारका विषयमा महासंघको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँले नवनिर्वाचित अध्यक्ष पन्तलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।
यस भेट वार्तामा संघ र महासंघका अध्यक्ष लगायत महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, संघका प्रवक्ता डिबि क्षेत्री, अर्थिविद अनल भट्टराई, एशिया क्षेत्रका पूर्व क्षेत्रीय महिला उपसंयोजक जुनु गुरुङ, महासंघका महानिर्देशक र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारि अधिकृत लगायत अन्य प्रतिनिधिहरुको सहभागिता थियो ।
सचिवालय
गैरआवासीय नेपाली संघ ।